प्रेरणाको स्रोत: परिश्रमको यात्रा

शिक्षाको ज्योतीले विद्यार्थीहरूलाई मार्गनिर्देशन र चेतना दिइरहेका दृष्टिविहीन शिक्षकको कथा

“साना नानी बाबुहरूको माध्यमबाट ठुलो जमातसम्म पुग्न सकेको छु। विद्यार्थीले आफूले जागिर खाइ आफ्नो खुट्टामा उभिन सकेको देख्दा मेरो मन फुरुङ्गै हुन्छ, एकदम खुसी लाग्छ।”

दिपक सापकोटा

मेरो जन्म काठमाडौँको गोलढुङ्गा गा.वि.स वडा नम्बर ९ मा भएको हो जुन अहिले तारकेश्वर नगरपालिका वडा नम्बर ५ मा पर्दछ। म दृष्टिविहीन भएकै कारणले गर्दा १० वर्षको उमेर सम्म पनि विद्यालय पढ्न गएको थिइनँ। नेपाल दृष्टिविहीन कल्याण संघ भन्ने संस्थाले फिल्डमा काम गरिरहने क्रममा मलाई देख्नु भए पश्चात् मलाइ पायक पर्ने छेउछाउको विद्यालयमा भर्ना गरिदिनु भएको थियो र त्यहाँबाट मेरो अध्ययनको सुरुवात भएको थियो।

नागार्जुन ठुलागाउँ माध्यमिक विद्यालयबाट मैले SLC दिएँ। मैले कक्षा ३/४ देखि नै शिक्षक बन्ने सपना देखेको थिएँ। शिक्षण पेशा आदर्श र चेतना दिन एकदमै उपयुक्त पेशा लागेको थियो। कक्षा ५ मा हुँदा ध्रुव पराजुली सरले शिक्षक बन्न झन प्रेरित गर्नुभयो। म दृष्टिविहीन भएकोले मलाइ यो पेशा सजिलो हुने र सानोठिमी क्याम्पसमा होस्टलमा बसेर पढ्न सकिने जानकारी दिनुभएको थियो। SLC पछि होस्टल बस्नका लागि विभिन्न संघर्ष गरि बसेँ। विद्यालय स्तरका ब्रेल पाठ्य पुस्तकहरू उपलब्ध भए पनि क्याम्पस स्तरका नपाइने हुँदा साथीहरूलाई रेकर्ड गर्न लगाएर पढ्नु पर्थ्यो । दृष्टिविहीन कल्याण संघले छात्रवृत्तिको रूपमा दिएको एक हजार रुपैयाँले महिनाभरको खर्च पुऱ्याउनुपर्थ्यो । सानोठिमीबाट नै व्याचलर सकाएँ र त्रिभुवन विश्वविद्यालयको केन्द्रिय क्याम्पसबाट नेपाली विषयमा वि.स २०६७ सालमा मास्टर्स सम्पन्न गरेँ। क्याम्पसको हरेक तहमा गर्नुपर्ने अभ्यास शिक्षणको क्रममा मैले आफू शिक्षक रूपमा भुमिका खेलिरहँदा विद्यार्थीहरू प्रभावित भएको महसुस गरिरहेको थिएँ। मैले वि. स.२०६५ सालबाट व्याचलर सकेपश्चात् नेपाल सरकारको राहत दरबन्दीमा मैले SLC दिएको विद्यालयमा नै गएर पढाएँ। त्यसपश्चात् २०७२ सालमा राहत तर्फबाट नै टोखाको सरस्वती माध्यमिक विद्यालयमा ४ वर्ष पढाएँ र अहिले परोपकार आदर्श माध्यमिक विद्यालयमा निम्न माध्यमिक सामाजिक स्थायी शिक्षक छु।

करिब १५ वर्षको अध्यापन गरिरहँदा विभिन्न विद्यार्थीहरू भेट्न पाएँ। सबैको आफ्नो आफ्नो कहानी, जीवन शैली। मलाई बाटोबाट स्कुल सम्म हात समातेर लग्दा खेरी विद्यार्थीहरूले आफ्नो व्यक्तिगत कुराहरू गर्छन्, समस्या सुनाउँछन्। मैले सकेजत्ती सहयोग गरिआएको छु, सर सल्लाह दिने गर्द्छु। विद्यालय नछोड भनी सल्लाह दिएको विद्यार्थीहरू बाटोमा कहिले काहीँ भेट्छु, विविध कारणले गर्दा छोड्नु परे पनि सरको सल्लाह एकदम ठिक थियो भनी भन्नुहुन्छ, याद गरिरहनु भएको हुन्छ, भेट्न आउनु हुन्छ।

विद्यार्थीले आफूले जागिर खाइ आफ्नो खुट्टामा उभिन सकेको देख्दा मेरो मन फुरुङ्गै हुन्छ, एकदम खुसी लाग्छ। कति विद्यार्थीहरू जीवनमा अगाडि बढीरहेको देख्दा आफूलाई गर्व लाग्छ, अझ अगाडि बढुन् भन्ने महसुस हुन्छ। विद्यार्थीको सफलता नै एउटा शिक्षकको कमाइ हुन्छ।

सामुदायिक विद्यालयमा अध्यापन गरिरहँदा विभिन्न आर्थिक, पारिवारिक कारणले विद्यार्थीहरू विद्यालय आउन नपाउने, उच्च शिक्षाको लागि करियर अगाडि बढाउन नपाएको देख्दा एकदमै नराम्रो लाग्छ। अनलाइन बाट विद्यार्थीहरू बिग्रेको देख्दा पनि मन खिन्न हुन्छ। सामुदायिक विद्यालयमा कतिपयका अभिभावक हुँदैनन् र आफूले अभिभावकको रूपमा मार्गनिर्देशन पनि गरिरहेको हुन्छु।

साना नानीबाबुहरूसँग घुलमिल गर्न मन पराउँछु। उनीहरूलाई जिस्काउँछु, कथा सुनाउँछु र चेतना जगाउँछु। यी साना नानीबाबुहरूको माध्यमबाट नै म ठुलो जमातसम्म पुग्न सकेको महसुस हुन्छ।

शिक्षक पेशा एकदमै आदर्शको पेशा हो। थोरै व्यक्तिबाट धेरै ठाउँमा चेतना दिन सकिन्छ। विद्यार्थीहरूलाई चेतना दिइरहँदा परिवार, छरछिमेक र पूरा समाजमा नै चेतना फैलिने हुन्छ। विद्यार्थीको क्षमता र रुचि सबै भन्दा पहिले शिक्षकले नै आँकलन गर्न सक्छन् र विद्यार्थीलाई त्यही अनुसार सर सल्लाह दिन सके आफ्नो करियरमा सक्रिय हुन सक्छन्।

अन्य कथाहरू

वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।