प्रेरणाको स्रोत: परिश्रमको यात्रा
कमलरी बनाइएकोबाट यस विरुद्दको विभेदलाई छिचोल्दै शिक्षाको महत्व बुझी अहिले कानुन अध्ध्ययन गरिरहेको व्यक्तीको कथा
“हाम्रो जीवनलाइ खुल्ला ‘Education is one of the keys to ‘open’ our life!’”
उर्मिला चौधरी
बाल्यकालको एउटा घटनाबाट सुरु गर्छु । मैले कक्षा आठको नयाँ किताब किनेर ल्याएको थिएँ । त्यहिबेलामा बुबाले जेरी ल्याउनुभएको रहेछ । जेरी एउटा कागजमा बेरिएको थियोः खाने मुख धेरै थिए । बुबाले मेरो त्यही नयाँ किताबको पाना च्याती जेरी हालेर सबैलाई बाँडिदिनुभयो । मेरो बुबालाई आठ कक्षाको किताब एउटा कागज मात्र थियो । कुन कागजमा के लेखिएको छ र यसको महत्व के थियो, केही थाहा थिएन । मेरो बुवा कति सिधा भन्ने अनुभूति हुन्थ्यो मलाई । यसले शिक्षाको महत्व बारेमा झक्झकाई रहन्थ्यो ।
सायद यही शिक्षाको कमीले होला, गाउँ सफाई, खेल व्यवस्थापनलगायतका क्षेत्रमा मेरै समुदायका मानिसहरू अध्यक्ष हनुहुन्थ्यो तर शिक्षा, स्थानीय तहको प्रमुख क्षेत्र र अलि शैक्षिक योग्यता चाहिने क्षेत्रमा चाहिँ कोही देखिँदैन थियो वा भनौँ, निर्णय गर्ने क्षेत्रमा कोही पनि पाइन मैले ।
म कमलरी थिएँ । अङ्ग्रेजीमा भन्नेपर्दा Slave ! सम्पत्ति र शिक्षा जस्तो महत्त्वपूर्ण कडी नै समुदायबाट बञ्चित थियो, जसलाई फाइदा उठाएर सम्पतिको बापत छोरीचेलीलाई अर्काको घरमा वर्षौसम्म काम लगाउने प्रचलन मौलायो । अनि छोरीचेली १७-१८ वर्ष भएपछि वा भनौँ विवाह गर्न योग्य भएपछि ‘जाउ तिम्रो बहिनिलाई पठाई देउ’ भन्ने र दास्तवको पुस्तान्तरण गर्ने ।
असह्य भयो । यसको विरूद्धको अभियानमा लाग्न थालियो । अनि पढाइ लेखाइ निरन्तर नै भएन । विद्यालय छोडी छोडी कहिले कसलाई उद्धार गर्न जानुपर्ने, कहिले कसको ज्यान जोगाई दिनुपर्ने, मारपिटबाट बचाउनुपर्ने, राज्यका ठुलाठुला ओहोदाका मान्छे, सरकारी निकायमा कार्यरत कर्मचारी, डिआइजीलगायतका शक्तिशाली व्यक्तिहरूसँग लड्नुपर्ने । यस्तैमा विद्यालय निरन्तरता दिनुपर्यो । कक्षा आठमा त ३० दिन मात्र विद्यालय गइयो । दोस्रो डिभिजनमा पास भएपछि, साह्रै चित्त दुख्यो, फेरि अर्को स्कुलमा भर्ना लिएर पढेँ ।
परिस्थितिले नै मलाई कानुनको ढोकासम्म पुर्यायो र मेरो अभियानको यात्रालाई थप मजबुद बनायो । सपना देख्न पनि टाउको माथि बलियो छानो, लत्ताकपडा, खाना र विशेषगरि सुरक्षाको अनुभूति चाहिँदो रहेछ । यिनीहरूको अभावमा पनि मेरो कामले गर्दा मलाई कानुन विषयतर्फ आकर्षित गर्यो । पहिला कानुन भनेको प्रहरीले पक्रिने, थुन्ने, कुट्ने भन्ने मात्र लाग्थ्यो । कमलरी प्रथा उन्मूलन अभियानमा लाग्दै गर्दा यसको महत्वको बारेमा पनि अवगत हुँदै गयो । अनि कानुन पढ्ने रूचि बढ्यो ।
२०६८ सालमा शान्तिपूर्ण कमलरी उन्मूलन आन्दोलन गर्यौ । मैले आन्दोलन हाँके । नेपाल सरकारले मुक्त कमलरी घोषणा गर्यो । कमलरीको माग पूरा गर्न भनी १२ करोड बजेट छुट्याए पनि बिना कुनै योजनाको बजेट भएका कारणले गर्दाखेरि ९ करोड फ्रिज भएर गयो । मुक्त कमलरी कार्ड प्रदान गरे पनि यो औपचारिक दस्तावेजमा सीमित रह्यो । यस्तै कयौँ कानुनी र कार्यविधिगत जटिलताले पनि कानुन पढ्न रुचि बढ्यो । रोजेभेल्ट फाउन्डेसनले (Roosevelt Foundation) पछि मलाई Freedom from Fear Award बाट नेदरल्यान्डमा सम्मान गर्यो । यो अवार्ड अहिलेसम्म मलाला युसुफ, नेल्सन मण्डेलालगायतका व्यक्तिले प्राप्त गर्नुभएको छ भन्दा मलाई झन् आफ्नो कामप्रति प्रोत्साहन मिल्यो ।
हाम्रो बेलामा एसइइ पास गर्नु भनेकोः प्रधानमन्त्री र मन्त्रीभन्दा माथि भएको महसुस हुन्थ्यो । एसइइ पछिको तीन महिनामा आफ्नो जिज्ञासु स्वभावलाई निरन्तरता दिई अगाडि बढे अवश्य सफल भइन्छ ।