प्रेरणाको स्रोत: परिश्रमको यात्रा
एसएलसीमा ४९% ल्याई आफ्नो इच्छा रहरलाइ पछ्याउदै मिहिनेत गरि करोडौं जनताको मन जित्ने चलचित्र निर्माता बन्न सफल व्यक्तिको कथा
“तपाईँको इच्छा र रुचिले के पढ्ने, के गर्ने भन्ने कुरा निर्धारण गर्नुपर्छ । आफूलाई हरेक दिन के गर्न उत्साहित बनाउँछ निर्क्यौल गर्नुपर्छ । एउटा लाजले आफ्नै नाम बिर्सिने मान्छे त आज कलाकार बन्न सक्छ भने त, जे पनि हुन सक्छ !”
रविन्द्रसिंह बानियाँ
धादिङको महेन्द्रोदय माध्यमिक विद्यालयमा पढेँ । कक्षा ४ बाट बल्ल अङ्ग्रेजीका अक्षरहरू सिकें - ए, बि, सि । गाउँमा स्कुल हिँडेर जानुपर्थ्यो, आधा घण्टाजसो । लहैलहैमा त गएको हो स्कुल, धेरै साथी भेट हुन्छ भन्ने हिसाबले गइन्थ्यो । सरहरू एकदम कडा । जिल्लाबाट सरहरू आउनुभएको हुन्थ्यो । घरमै बास गाँस दिएपछि हामीलाई कक्षा बाहिर घरमा बच्चालाई पढाउने चलन थियो । पाँच कक्षामा चाहिँ अङ्ग्रेजीको तल नेपालीमा लेख्ने चलन थियो । अङ्ग्रेजी त जान्दै जानिँदैन थियो नि ! हामीलाई अङ्ग्रेजी पढाउने सरले पनि त्यस्तै गर्नुहुन्थ्यो । पाँचमा पास भैयो । अनि बुवासँग भक्तपुर आइयो । भाइ बिरामी भएर आएका थियौँ । पढ्नु त पर्यो, अनि बुवाले भक्तपुर अङ्ग्रेजी स्कुलमा लानुभयो । अब शिक्षकले कति कक्षामा राख्ने त भन्ने कुरा भयो । अब बुवाले २ मा राख्ने कुरा गर्नुभयो । प्रधानाध्यापकले बोलाएको अझै याद छ । “बटरफ्लाई”को स्पेलिङ भन त भन्नेभयो । पाँच कक्षा पास गरेर आको मान्छे, आएन । “इलिफेन्ट” को स्पेलिङ सोध्नुभयो - “इ” “इ” भन्यो बस्यो ।
“यो त हाम्रो युकेजीको बच्चाले जानेको हुन्छ । दुई कक्षामा कसरी राख्ने?” भन्ने भयो । पाँच कक्षा पास गर्या मान्छेलाई एकमा राखिदियो । किताब लिएर आइयो । ओहो, चित्रै चित्र । अनि त पढ्न अर्कै मज्जा आइहाल्यो नि । खर्रर पढेर त फर्स्ट भइहाल्यो नि । अनि त्यसपछि गाउँ गएको थिएँ बिदामा, साथीहरू त ६ कक्षा पढिरहेका रहेछन् । अङ्ग्रेजीको किताब खर्रर पढेर सुनाइदेको सबै जिल्ल परे । अनि फेरी एक वर्षपछि गाउँ फर्किनुपर्यो । साथीहरू सबै सातमा पुगेछन् । आफू पनि सातमा नै बसियो । सातमा त दोस्रो पो भएँ । त्यो भन्छन् नी, नजान्नेको जमातमा अलि अलि जान्ने त के के न जस्तो । तर गणितको बेस त ६ मा बस्दो रहेछ,सातमा जाँदा त गणितमा निकै कमजोर भएँ म । तैपनि आठमा पनि दोस्रो । फर्स्ट बोइलाई अङ्ग्रेजी पढाइदिन्थें म, उसले मलाई गणित सिकाउँथ्यो । तर शिक्षकहरू पनि खासै त्यस्तो पढाउन नआउने । गाउँकै शिक्षक भएपछि कोही श्राद्ध भन्ने, कोही हलो जोत्न जाने अनि नआउने । अब त्यस्तोमा त अरु विषय लाग्छ कि भन्ने डर पनि भयो । अब कक्षा नौमा त ऐच्छिक विषय छान्नुपर्ने भयो। सेकेन्ड बोइ, गणित खासै आउँदैन तर अपसनल म्याथ लाजले भए पनि लिनुपर्यो ।
मुखको झगडा कसैसँग गर्नुपर्यो भने अगाडि तम्सिने खालको व्यक्ति थिएँ। कसैले बजाइदिन्छु म तलाई भन्यॊ भने “बाजा हो र”भन्दै मुखमुखै लाग्ने अनि हातखुट्टा पनि चल्न थालेपछि भाग्ने । तर मान्छेको अगाडि बोल्नै नसक्ने । त्यो स्कुलमा सप्रसँग व्याख्या हुन्थ्यो नि। एकदिन सरले उठाएर कक्षामा बोल्न लगाउनुभयो, सबैले मुखमा हेरे, सबै केटीले पनि हेरे, मुख रातो भयो, आफ्नो नाम पनि बिर्सें । लाजको पुरी हो यो त भन्थे सबैले । मैले त सोचेको पनि थिइन, म जस्तो मान्छे कलाकार बन्छु भनेर।
एसएलसीको लागि पढ्नलाई बिदा हुन्थ्यो, सेन्टर कहाँ कहाँ हुन्थ्यो । सेन्टरको नजिकै गएर कोठा खोज्न गयो अनि त्यहि छेउमा बस्यो । १० ओटा थरीथरी स्कुलका मान्छे आएका हुन्थे । त्रिशुलीतिर गएर बस्ने, फिल्म हल जाने अनि गुलेली खेलेर हिन्ने । अनि एसएलसी आउन लाग्यो, म पास हुन्न भन्ने फिल हुन थाल्यो । ७०० मा २२४ आए पास भइन्थ्यो । हाम्रो स्कुलमा यतिसम्म थियो की २२६ आए सेकेन्ड बनाउनुपर्ने स्थिति । अन्त स्कुलमा फेल भएर आउने मान्छे हाम्रोमा फर्स्ट, सेकेन्ड हुन्थे । फेल हुन्छु जस्तो लागेर घरमा गएर भनें, “यो पालि ड्रप गर्छु, अर्को साल मज्जाले पढेर दिन्छु अनि फर्स्ट डिभिजन ल्याउँछु ।” गाली खाइयो । रूवाबासी घरमा । गाउँमा हल्ला सेकेन्ड बोई एसएलसी दिन नजाने रे ! गाली गर्दै सम्झाए, “केपछि हट्छस, दे न दे । के हो के हो नी । अहिले नै हरेस खान्छस्?”
सबैले भन्थे मलाई, “दिमाग भाको बुद्धि नभाको” भनेर । सम्झिन सक्थें तर के सम्झिने चाहिँ थाहा हुँदैन थियो । पछि २४ जनामा गाउँमा त म मात्र पास भएछु । त्यो पनि ४९% मात्र ल्याएर । आफू नेपालीमा चाहिँ राम्रो थिएँ । राम्रो गर्ने विषयमा त कसले मिहिनेत गर्छ र ? टेस्टमा ६७ आको थियो, पढिएन। पछि एसएलसीमा त ३७ आयो नि ।
तर त्यसपछि के पढ्ने भन्ने थिएन । यत्तिकै इज्जतको लागि सबैले साइन्स पढ पढ भन्थे । तर मलाई मेरो पढाइको स्तर थाहा थियो । नेपाली पढ्छु भन्ने थियो । त्यो बेला मेजर नेपाली र इकोनोमिक्स लिएर, आफूले पढ्न सक्ने हेरेर आइए पढेको । त्यो बेला लक्ष्य नै थिएन नि । रिजल्ट भयो । त्यो त्रिविको तार भाको झ्यालभित्र टाँसेको हुन्थ्यो रिजल्ट - १५६१६ सिम्बल नम्बर, अझै याद छ, नम्बर नै छैन! अब फेल भइहाल्यो त, मुख कसरी देखाउने भनेर तनाव भयो ।
मेरो एउटा साथीलाई फकाए मैले इन्डिया जाउँ भनेर, मामा हुनुन्थ्यो इन्डियामा, एम्बेसीमा काम गर्नुहुन्थ्यो। गएर फरिदाबादको ब्लेड र सुई बनाउनेमा काम गरें । त्यहाँको कार्यबोझ र वातावरणले नर्कै बसेको जस्तो थियो । अनि फर्किएँ म त नेपाल । फर्किंदा बाटोमा झन्डै पानीमा डुबेर मरियो पनि । अनि नेपाल फर्केको त पास भइराखेको रहेछु म ! तर अब म रन्थनिन थालेँ । एकदम नै करियरमा के गर्ने भनेर तनाव हुन थाल्यो ।
अनि एउटा सानो घटनाले म आज कलाकार बनेको हुँ। मामाको साथीले फ्रिमा अभिनय नृत्य सिकाइन्छ भन्ने भेट्नुभएछ । अभिनय सिकौँ भनेर मामाले भन्नुभयो । सिक्न जाँदा उनीहरूले गरिब तथा जेहेन्दारको चिठ्ठी लिएर आउनु भन्नुभयो । गाउँ जानुपर्ने भयो तर त्यो बेला द्वन्द्वकाल थियो । गाउँका वडा अध्यक्ष सबै काठमाडौँ नै थिए । चिठी बनाइयो । अनि सुरू भयो । भनिने रहेछ - “आमाको होटेल र बाउको लज बसुन्जेल सबै कलाकार हुन्” । तर अब यसमा लागेर के हुन सक्छ त, बरु गिट्टी नै कुटुम तर यही नै गर्ने हो हुन थाल्यो ।
जे चिज आफूलाई एकदम मनपर्छ, त्यसलाई नै काम बनायौँ भने त्यो काममा नै रमाईँदो रहेछ । सधैँ काम गरे पनि काम गरे जस्तै नहुने । बच्चालाई अब सोध्ने हो भने, केमा रुचि छ भनेर सोध्ने हो । कुनै कुरामा रुचि छैन भने त्यसमा प्रगति गर्न सकिँदैन, त्यसमा विज्ञता हासिल गर्न उत्साह, उमङ्ग, हुँदैन । तिमीलाई के मन लाग्छ, गर्ने त्यो हो ।
“ए यो कुरामा त स्कोप छैन” भन्लान् तर ईच्छा छ भने त जेमा पनि स्कोप बनाउन सकिन्छ नि । स्कोप त आफूले बनाउने हो । विज्ञता हासिल गर्न सकिन्छ । हाम्रो नाटक घरमा सोमबार बिदा हुन्थ्यो तर पनि हामी बिदाको दिन पनि अफिस जान्थ्यौँ । किनभने हाम्रो काम नै हामीलाई रमाइलो र प्यारो थियो।
मान्छेले मूल्याङ्कन गर्दा पैसा कति कमायो भनेर सोध्छन्।अनि तलब कति भनेर सोध्दा भन्थेँ - २,५०० चाहिँ हातमा नगद आउँछ अनि ४७,५०० चाहिँ प्रकारमा आउँछ । त्यो नाटक घरमा के अनुभव हुन्थ्यो, त्यो सबै ४७,५०० भन्दा बहुमूल्य थियो हामीलाई । हामीलाई त काम नै भाँडाकुटी खेलेको जस्तो हुन्थ्यो ।
हामी जे कुरामा कमजोर छौँ, हामी त्यो बढी सम्झिँदा रहेछौँ । तर त्यसमा ध्यान केन्द्रित भएर बस्न हुँदैन । अङ्ग्रेजी जानिएन त जानिएन । तिमीलाई तामाङ भाषा आउँछ, मैथिली आउँछ, नेवारी आउँछ । त्यो भाषा सबैलाई आउँछ र ? तिमीलाई दौडन आउँछ कि, भारी बोक्न आउँछ कि, चित्र कोर्न, नाच्न, गाउन, नाम्लो बुन्न, डोको बुन्न, के के गर्न आउँछ, त्यसमा ध्यान देऊ ! हामीलाई जे जे आउँछ त्यसमा पोख्त बनाउने हो आफूलाई । जुन सिप र हामीसँग भएका सबल पक्ष छन्, हाम्रा खुबी पहिचान गर्ने हो हामीले । त्यो पत्ता लगाउने चाहिँ ठुलो कुरो रहेछ । करियर त बनाउँदै जाने हो ।
समाजमा हामीले एउटा मापदण्ड दिएका छौँ र त्यसमा कोही फिट नहुने बित्तिकै ए काम छैन यसको भनेर भन्दिन्छौँ । काठमाडौँ पढ्न आउँदा हस्तलेखन देख्दा पनि लाज लाग्दो रहेछ । तर एउटा जाबो अङ्ग्रेजीले मार्यो भन्दैमा आफ्नो सबै चिज त बिर्सिनु भएन नि । आफू माथिको आत्मविश्वास के के कुराले दिन्छ, त्यो पहिचान गर्नुपर्छ । करियर त जेमा पनि हुन सक्छ । तपाईँको इच्छा र रुचिले के पढ्ने, के गर्ने भन्ने कुरा निर्धारण गर्नुपर्छ । आफूलाई हरेक दिन के गर्न उत्साहित बनाउँछ निर्क्यौल गर्नुपर्छ ।
सपना देख्नु होला । सपना देख्न नहिच्किचाउनुहोला । आफ्नो क्षेत्र पहिचान गर्नु महत्त्वपूर्ण हुन्छ । आफ्नो रुचि कसरी पहिचान गर्ने, कसरी आफ्ना खुबी, आफ्ना गुण, उत्कृष्टताका क्षेत्र कसरी पहिचान गर्ने यी प्रश्नमा जानु अगाडि आर्थिक रूपमा कमजोर विद्यार्थीले आफ्ना सपना कसरी पूरा गर्ने अर्को बाधाबारे पनि केही बुझ्नुपर्छ ।
एउटा लाजले नाम बिर्सिने मान्छे त आज कलाकार बन्न सक्छ भने त, जे पनि हुन सक्छ।