प्रेरणाको स्रोत: परिश्रमको यात्रा

१२ वर्षको उमेरमा गणेशको चित्र बनाई ५० भन्दा बढी वर्षसम्म यहि चित्रकला क्षेत्रमा लागी र्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सफलता हासिल गर्नुभएको व्यक्तिको कथा

“चित्र भनेको जीवन हो । यसले खुसी जीवन बाच्न सिकाउँछ । चित्र बनाउने समयको लगनशीलता र धैर्यता जीवन प्रकिया जस्तो हो ।आफूलाई यो पेसा छोडौँ जस्तो कहिले पनि महसुस भएन । आफूले रुचि गरेको कुरामा अझ सिक्न बुझ्न दिनहुँ हौसला मिल्छ । ”

लोक चित्रकार

मेरो बाल्यकाल न्यून मध्यम वर्गको सामान्य नेवार परिवारमा बित्यो । काठमाडौँको ईतुम्बाल भन्ने टोलमा मेरो जन्म भयो । घर परिवारमा चित्रकारिता पेसा थियो जुन अहिलेको भन्दा फरक हुन्थ्यो । शान्ति निकुञ्ज विद्यालयमा कक्षा २ बाट पढ्न थाले । कहिलेबाट चित्र गर्न थालेँ मलाई याद छैन तर विद्यालयमा हुँदा म भन्दा ठुला दाइहरूले यो लेख्देउ, बनाइदेउ भनेर दिनु हुँदा म बनाउँथे र मलाई २,४ पैसा दिनुहुन्थ्यो । म स्कुल बिदा भएपछि पनि कक्षाकोठामा चित्र बनाउँदै बस्थे, जसको कारण घरमा बाबाले छोरा हरायो भन्ने डरले खोज्न आउनुपर्थ्यो ।

सानोबाट मैले चित्रकारितामा करियर बनाउँछु भनेर सोचेर बनाएको थिइनँ । मलाई मन पर्थ्यो, बनाउँथेँ । हेर्दा आकर्षक लाग्थ्यो, त्यहीअनुसार बनाउन थालेँ । १२ वर्षको उमेरमा नै मैले गणेशको पूरा चित्र बनाएँ । यही उमेर मा हुदा नै बाबा पनि बित्‍नुभयो र घरको जिम्मेवारी बहन गर्नुपर्यो । मैले आफैँले चित्र बनाउँदा बनाउँदै सिकेँ, कुनै औपचारिक शिक्षा पाएर गरेको थिइन ।

मैले पौभा चित्रकलाको बारेमा सानो उमेरमा राम्रोसँग अध्ययन गर्न पाइन । प्राचीन स्मारक र ग्रन्थहरू अनुवाद भएको थिएन र पौभा चित्रको अभिलेख राख्ने चलन पनि थिएन । मैले मन्दिर र अन्य विभिन्न ठाउँमा देखेको मूर्तिको आकृति हेरिरहँदा मलाई के हो, कस्तो हो भनेर जिज्ञासा भएकाले आफैँले अध्ययन गर्न थालेँ । हिन्दु र बौद्धको विभिन्न किताबहरु आफैले अध्ययन गर्न थाले ।

चित्रकलामा मैले आफ्नो ५० भन्दा वर्ष बिताइसके । सानोदेखि भएको रहर अहिलेसम्म पनि जीवन्त छ । यही पेसामा लागिरहँदा अहिलेसम्म पनि कहिले पछुतो र निराशा भएको छैन । चित्रकार हुन्छु भनेर चित्र बनाउने होइन । आफूलाई के मन पर्छ, त्यो कोर्न थालिहाल्नुपर्छ । त्यो कोरिरहँदाको आनन्द बुझेपश्चात् त्यही आनन्द नै इच्छा हो र इच्छा छ भने चित्रकला करियर हुन सक्छ ।

चित्र भनेको जीवन हो । यसले खुसी जीवन बाच्न सिकाउँछ । चित्र बनाउने समयको लगनशीलता र धैर्यता जीवन प्रकिया जस्तो हो । कति गल्ती हुन्छ, त्यसलाई फेरि मिलाउनुपर्छ, राम्रो बनाउनुपर्छ । यही गल्तीबाट नै कहिलेकाहीँ झन् राम्रो चित्र बन्छ । कसैले केही कोर्नु मात्र चित्र होइन । चित्रकारले त्यो कोरेको वस्तुको मर्म बुझ्छ, त्यसभित्रको दर्शन बुझ्छ । एक असल चित्रकारले खाना खाँदा समेत खानाको लागि खाना खाने होइन, खाना बनाएको व्यक्ति र अन्नहरूको लागि पनि आभार प्रकट गर्दछ ।

आफूले सानो उमेरमा चित्रकलामा नै औपचारिक शिक्षा नपाए पनि अहिले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्‍वविद्यालयमा पढाउँछु । मैले बनाएको चित्रहरू युरोप, अमेरिका, जापान जस्ता विभिन्न देशको म्युजियमहरू र निजी सङ्ग्रहालयहरूमा राख्ने सौभाग्य पाएको छु।

चित्रकलाको लागि विभिन्न विधाको ज्ञान हुनुपर्छ । आफूले बनाउने चित्रको बारेमा इन्जिनियरले जस्तो आफूले अगाडि डिजाइन गर्नुपर्छ, लामो समयसम्म जतन गर्ने केमिकलको अध्ययन गर्नुपर्दछ । सामाजिक चित्रकला गर्न समाजको अवस्थालाई समाजशास्त्रीय दृष्टिकोणले हेर्नुपर्दछ । व्यक्तिको चित्र बनाउन खुसी, रुवाइ, दुखी प्रत्येक भावनालाई मनोचिकित्सक सरह बुझ्नुपर्छ, इतिहासको अध्ययन गर्नुपर्छ । ज्ञान आर्जन गर्ने क्षेत्रमा चित्रकला एकदमै रमाइलो छ तर रुचि नभएको व्यक्तिलाई गार्‍हो पनि हुन्छ ।

चित्रकलाको नेपाल र अन्तर्राष्ट्रिय बजार छ । मैले मेरो जीविकोपार्जन यसैबाट गर्दै आएको छु । म जस्ता धेरै साथीहरू यही पेसामा धेरै समयदेखि हुनुहुन्छ, जीवन सरल र खुसी तरिकाले बिताउनुभएको छ । चन्द्रमान मानसिङ, गाउँबाट आएर अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल भएका लक्ष्मण श्रेष्ठहरू र अहिलेका नयाँ पिँढीहरूले पनि यही जीविकोपार्जन गर्दै आउनुभएको छ । चित्रकला करियर बनाएर पैसा कमाउनुभन्दा इच्छासाथ आफ्नै रहरबाट मिहिनेत गर्न सके जीविकोपार्जन गर्न सकिन्छ । म आफूलाई यो पेसा छोडौँ जस्तो कहिले पनि महसुस भएन । मैले पौभा चित्रकलामा ध्यान दिए, आफूलाई यसैमा एकाग्रता राखे र धेरै ज्ञान लिन पाए, अझै लिँदै छु । आफूले रुचिले गरेको कुरामा अझ सिक्न बुझ्न दिनहु हौसला मिल्छ ।

वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।