प्रेरणाको स्रोत: परिश्रमको यात्रा

आफ्नो पहिचानको खोजीदेखि सामाजिक मापदण्ड र अपेक्षा भन्दा मन पर्ने विषय आफैँले रोजी करियर आफ्नो पहिचान आफैले बनाउँदै गरेको व्यक्त्तिको कथा

“१० कक्षा पढेपश्चात् मैले बाटोमा जुन जुन कलेजको बारेमा बुझ्थेँ, ती सबै कलेजमा गएर प्रवेश परीक्षा दिएको थिएँ । कुमारीपाटीको प्रत्येक कलेजमा प्रवेश परीक्षा दिएँ । घरमा करियर दिशानिर्देशन गर्न सकिँदैन भने आफू नै अगाडि बढी आफ्नो लागि हिँड्न सक्नुपर्छ ।आफ्नो जिन्दगीमा आफ्नो सबैभन्दा ठुलो भूमिका हुन्छ, त्यसपश्चात् परिवार, समाज र अरु । ”

जियोन मगर

म ललितपुरमा जन्मिएँ । विद्यालयमा म कसैसँग बोल्दिन थिएँ, एक्लै बस्न मन गर्थेँ । म केटी भएर प्राकृतिक रूपमा जन्मिए पनि केटाको लुगा लगाउन मन पर्थ्यो । मलाई विद्यालयमा मङ्गलबार र शुक्रबार एकदमै मनपर्थ्यो किनकी तब मैले स्कर्ट लगाउन पर्दैन थियो ।

मेरो सानैबाट केटाको जस्तै हाउभाउ भएकाले लाइनमा बस्ने क्रममा पनि केटाको लाइनमा बस्नुपर्ने भनी जिस्काउने गर्दथे । पढाइमा राम्रो थिएँ तर आफूभित्रको पहिचानको द्वन्द्वमा अल्झिरहेको हुन्थेँ । म किन यस्तो छु, म को हुँ भन्ने पहिचानको आफूभित्रको द्वन्द्व सानैदेखि रह्यो ।

११,१२ मा पारिवारिक रूपमा आमाबुबा दुवै नपढ्नु भएको हुनाले के पढ्नी कस्तो विषय रोज्नुपर्छ भन्ने बारेमा सरसल्लाह दिन सक्नुहुन्नथ्यो । त्यसैले म आफैँले मेरो भविष्यको यात्रा पहिचान गर्नुपर्ने थियो । १० कक्षा पढेपश्चात् मैले बाटोमा जुन जुन कलेजको बारेमा बुझ्थेँ, ती सबै कलेजमा गएर प्रवेश परीक्षा दिएको थिएँ । कुमारी पार्टीको प्रत्येक कलेजमा प्रवेश परीक्षा दिएँ र पास भएपश्चात् कहाँ पढ्ने के पढ्ने भनेर सोच्न थालेँ ।

+२ मा मैले व्यवसाय पढेँ । यतिबेला मैले आफ्नो पहिचानको बारेमा बुझिरहेको थिएँ । विभिन्न इन्टरनेट माध्यमबाट म आफूलाई बुझिरहेको थिएँ । आफू trans man भएको थाहा पाएँ । साथीहरूलाई मैले कलेजमा खुल्लस्त रूपमा भन्न सकेँ र उनीहरू एकदमै सहयोगी र मायालु थियो । अहिलेसम्म साथमा छन् र एकदमै राम्रो सम्बन्ध छ।

+२ पछि राम्रो नम्बर आएकाले समाजको अपेक्षा र निर्धारित बाटोअनुसार ACCA पढे जबकी मलाई आर्टस लिन मन थियो । मैले आफ्नोभन्दा अरुको प्रतिक्रिया र सल्लाह धेरै सुने । ACCA लिए र पास पनि भए तर जब आफूलाई झन झन बुझेँ, मलाई आफ्नो इच्छा रुचि पूरा गर्न मन लाग्यो र मैले 3D Animation को कोर्से पनि पढ्दै छु । घरमा करियर दिशानिर्देशन गर्न सकिँदैन भने आफू नै अगाडि बढी आफ्नो लागि हिँड्न सक्नुपर्छ ।आफ्नो जिन्दगीमा आफ्नो सबैभन्दा ठुलो भूमिका हुन्छ, त्यसपश्चात् परिवार, समाज र अरु

Women in Animation नामक संस्था बाट LGBTIQ हरूलाई 3D animation पढ्न छात्रवृत्ति दिएको हुनाले मैले आफ्नो रुचि र इच्छा पूरा गर्न पाइरहेको छु । विभिन्न संस्थाहरूमा Youth champion को रूपमा अगाडि बढ्न सकिरहेको छु । आफ्नो पहिचान बुझ्दै करियरमा पनि लागिरहेको छु । 3D animation बाट म जस्ता transman, transwomen र अन्य LGBTQ समुदायलाई समाजमा प्रतिनिधित्व गर्न चाहन्छु ।

एसईई दिएपश्चात आफूलाई खोज्नुहोस्, बुझ्नुहोस्। इन्टरनेटमा खोज्नुहोस्, बाहिर जानुहोस्, कुरा गर्नुहोस् । विभिन्न माध्यमबाट आफूलाई र आफ्नो इच्छा रुचिलाई बुझ्नुहोस् । बाहिरको समाजको अपेक्षा र प्रतिक्रियालाई नभई आफ्नो अस्तित्व र इच्छाअनुसारको विषय रोज्नुहोस् ।

वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।