प्रेरणाको स्रोत: परिश्रमको यात्रा

स्वास्थ्य सेवाको पहुँचबाट बञ्चित भई बहिनीको निधनबाट डाक्टर बन्ने सपना देखी देशविदेशमा स्वास्थ्य सेवा प्रदान गरी अन्तराष्ट्रिय ख्याति पाई बिरामीबाट ‘आँखाको देवता’ को पहिचान बनाउन सफल भएको व्यक्तिको कथा

“मानिसमा सपना पूरा गर्नका लागि दृढ सङ्कल्प, बलियो इच्छाशक्ति र जिन्दगीमा आफ्नो उद्देश्य थाहा हुनुपर्दछ । आर्थिक सामाजिक र पारिवारिक रूपमा कमजोर भएका व्यक्तिहरूले परिवारिक दायित्व र जिम्मेवारी अरुको भन्दा बढी बहन गर्नुपर्छ होला, समय बढी दिनुपर्छ होला, मिहिनेत बढी गर्नुपर्छ होला तर आफूले दिएको समय र मिहिनेतले पछिको जीवन एकदमै सरल र सफल बनाउन सहज गर्दछ । ”

डा. सन्दुक रुइत

मेरो जन्म ताप्लेजुङको ओलाङचुङगोलामा भएको हो । ताप्लेजुङको विकट गाउँमा पारिवारिक वातावरणमा बाल्यवस्था बित्यो । गाउँमा विद्यालयमा पढ्न जान असहज भएको हुनाले बाबाले दार्जिलिङमा पढ्न लानुभयो । बाबाले शिक्षाको महत्व बुझ्नुभएको हुनाले गाउँबाट १५ दिन हिँडेर दार्जिलिङमा पुगेँ र त्यहाको St. Robert विद्यालयमा पढे ।

घरको पारिवारिक माया ममताबाट टाढा बसी सानो उमेरमा दार्जिलिङको विद्यालयमा बसी ७ वर्ष पढेँ । घर आउजाउ गर्नका लागि आर्थिक रूपले गार्‍हो पर्ने हुनाले बिदाको समयमा अरु घर जाँदा पनि म होस्टलमा नै बस्थे । त्यस समयमा विद्यालयको प्राध्यापकले जिन्दगी के हो, कसरी अगाडि बढ्ने, उहाँको जीवनका रमाइला यात्राहरूको बारेमा भन्नुहुन्थ्यो र म रमाइलो मानी सुन्ने गर्थे । उहाँले बताउनु भएका कति कुराहरू अहिले पनि याद आउँछ, सम्झिरहेको हुन्छु ।

चीन र भारतको युद्धको कारणले गर्दा दार्जिलिङका विद्यालय बन्द भएको हुनाले बाबाले मलाई काठमाडौ ल्याउनु भई सिद्धार्थ वनस्थली विद्यालयमा भर्ना गरिदिनुभयो र यहीबाट मैले पहिलो श्रेणीमा एसएलसी पास गरे । त्रि. चन्द्रबाट आइएसइ गरे र छात्रवृत्तिमा एमविविएसको लागि भारतमा पढ्न गए ।

काठमाडौँमा पढ्न आउने क्रममा एउटा सानो कोठा लिएर बसेका थियौँ । बहिनी र मेरो सम्बन्ध एकदमै नजिकको सुमधुर थियो । बहिनीलाई फोक्सोमा टिभी रोग लागी बिरामी भएकी थिइन् । केही समय औषधीले निको भएता पनि पछि औषधीले प्रतिक्रिया दिन छोड्यो । प्रत्येक समय बहिनीलाई भेट्न पसल जाँदा झन झन दुब्लाएको देख्थेँ । एकदिन मेरो हात समातेर “दाइ, तपाइँमा राम्रो हुने खुबी छ, धेरैलाई राम्रो हुने काम गरेर नाम कमाउनु । मलाई थाहा छ, तपाईले गर्न सक्नुहुन्छ” भनि। बहिनीले यी वाक्य भनेको करिब ३ हप्तापछि म काठमाडौँमा हुँदा बहिनी बितेको खबर पाए । त्यो वेला एकदमै नराम्रो लागेको थियो ।

जीवनमा राम्रो पढेपछि केही होला भन्ने मनमा सोचिरहेको थिए तर ठ्याक्क यही बन्छु भनी सपना बोकेको थिइनँ । बहिनीले भनेको कुरा मलाई याद आइरहेको हुन्थ्यो, प्रत्येक शब्द मलाई कन्ठस्थ भएसरह याद भइरहेको हुन्थ्यो । बहिनीले भनेको कुरालाई याद गरी विश्लेषण गर्दा स्वास्थ्य सेवाको पहुँचबाट बञ्चित बहिनी जस्तो हजारौं मानिसहरूको सेवा गर्नका लागि डाक्टर बनिनुपर्ने मनमा आयो र मैले तब करिब १६ वर्षको उमेरमा डाक्टर बन्ने अठोट लिएँ ।

डाक्टरी पेसा अगालिरहँदा देशविदेशमा पनि सेवा गर्ने मौका पाए । बहरानबाट ISA अवार्ड, भारतबाट पदम श्री अवार्ड, Ramon Magsaysay अवार्ड जस्ता विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्डहरूबाट सम्मानित हुने अहोभाग्य रह्यो । अहिले तिलगङ्गा अस्पतालको संस्थापक र कार्यकारी निर्देशकको रूपमा कार्यरत पनि छु । म आफू पनि कहिलेकाहीँ आफ्नो जीवनको यात्राक्रमलाई सम्झिरहँदा दङ्ग पर्छु र मेरो यहाँसम्मको सफलतामा विभिन्न व्यक्तिहरूको साथ र सहयोगबाट भएको हो, प्रत्येकको माया र साथको अहोभाग्य महसुस गर्दछु ।

जीवनमा सपना देखे पूरा गर्न सकिन्छ भन्नेमा मलाई पूरा विश्वास लाग्दछ । मानिसमा सपना पूरा गर्नका लागि दृढ सङ्कल्प, बलियो इच्छाशक्ति र जिन्दगीमा आफ्नो उद्देश्य थाहा हुनुपर्दछ । यी तीन ओटा कुरामा मनन गर्न सके आफ्नो जीवनको बाटो पहिचान गर्न सकिन्छ, सपना पूरा गर्न सकिन्छ र सफलता हासिल गर्न सकिन्छ ।

७ वर्ष म दार्जिलिङमा पढिरहने क्रममा जिन्दगीको कठोर अवस्था र समयबाट नै पछि जीवनलाई सरल र सहज बनाउने रहेछ भन्ने कुरा सिकेँ । आर्थिक, सामाजिक र पारिवारिक रूपमा कमजोर भएका व्यक्तिहरूले परिवारिक दायित्व र जिम्मेवारी अरुको भन्दा बढी बहन गर्नुपर्छ होला, समय अरुले भन्दा बढी दिनुपर्छ होला, मिहिनेत बढी गर्नुपर्छ होला तर आफूले दिएको समय र मिहिनेतले पछिको जीवन एकदमै सरल र सफल बनाउन सहज गर्दछ । पारिवारिक जिम्मेवारी दायित्व बहन गर्नु नराम्रो होइन, यसैले पछि जीवनमा अझ बलियो बनाउँछ ।

नेपालमा सङ्घर्ष छ तर अवसरहरू पनि त्यतिकै छ । ३० वर्ष अगाडि बाहिर विदेशमा जति सजिलो थियो, अहिले त्यत्ति छैन। जीवनमा लक्ष्य प्राप्तिका लागि विभिन्न पाठ्यक्रमहरू विदेशमा छ तर त्यही पाठ्यक्रमहरू नेपालमा नै छ भने नेपालमै पढ्नुहोस्, अलिकति मिहिनेत गर्नुहोस्, कुनै पनि समस्याको समाधानको लागि अग्रसरता देखाउनुहोस् । नेपालमा पनि धेरै अवसरहरू छन् । मलाई व्यक्तिगत रूपमा विदेशबाट धेरै अवसरहरू आए तर म यही नेपालमा नै बसी कार्य गरे । मैले अहिले पाएका यी सबै सफलता नेपालमा नै बसेर प्राप्त गरेको हो र मलाई यहाँ बसी काम गरेकोमा कुनै पनि दिन पश्चाताप महसुस गरेको छैन । कुनै पनि सफल व्यक्तित्वहरूको जीवनलाई विश्लेषण गर्नुहोस्, प्रत्येकले सानो तलबाट मिहिनेत गरि माथीसम्म पुगेको हुन्छ । मिहिनेत गर्न नडराउनुहोस्, तपाइँको आजको सङ्घर्षले भोलिको जीवन सफल र सहज बनाउने छ ।

वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।