प्रेरणाको स्रोत: परिश्रमको यात्रा

सभ्यता र प्रकृतिको विनाश भइरहँदा प्रश्न गर्न थालेको र त्यही प्रश्नको निरन्तरताबाट पहिचान, करियर बनाएको कथा

“जब आवश्यकता हुन्छ, तब त्यहाँ दृढ़ इच्छाशक्ति हुन्छ । त्यो इच्छाशक्तिले आफूलाई केही गर्छु भन्ने क्षमता दिन्छ, तब अल्छी लाग्न पनि छाड्छ । समाजको दायरामा बसेर आफ्नो इच्छा, सपनालाई मार्नु हुँदैन भन्ने मेरो भोगाई हो । आफूलाई मनले के गर्न मन लाग्छ, इच्छा के छ त्यो बुझी अगाडि बढ्नुपर्छ । ”

सञ्जय अधिकारी

मैले सानोमा ६ ओटा स्कुल फेरेँ । कहिले कुन स्कुल, कहिले कुन । कक्षा ७ पढ्दा समेत मलाई २ को गुणन आउँदैन थियो । गणित विषय एकदमै गाह्रो लाग्थ्यो । पढाइमा कमजोर भयो चकचके भयो भनेर होस्टलमा पनि राखियो तर त्यसले पनि काम गरेन । ९ कक्षाको बिचमा इन्द्रधनुसमा हाल्नुभयो । सोही क्रममा ट्युसन शिक्षकको रूपमा खिमलाल खनाल र विद्यालयमा विष्णु खरेल जस्ता शिक्षक पाएँ । खिमलाल खनालले मेरो कुरा बुझेर मैले बुझ्ने शैलीमा सिकाउनुभयो भने विष्णु खरेलले मेहनत गर्न सिकाउनुभयो । ४ बजे उठेर पढ्थे । बेलुकाको करिब १० बजेसम्म । गणित विषयदेखि डर लाग्‍ने मान्छेले गणितमा SLC मा ९७ ल्याए । सबै दङ्ग । तर मलाई सानैदेखि सामाजिक अध्ययनको विषय मन पर्थ्यो । शिक्षकले भनेको मज्जाले सुन्थे, पुतली उडेको देख्दा मन फुरुङ्ग हुन्थ्यो ।

विद्यालयमा सामाजिक अध्ययन पढाइ हुने क्रममा मलाई कत्ति पाठ्यक्रमको विषयवस्तुले चित्त बुझ्दैन थियो । मलाई याद छ कि नेपालमा रोजगारी छैन भनेर निराशा पोखिरहँदा मान्छेहरू काम नै गर्दैनन् भनेर जवाफ दिएको । अहिले सम्झिँदा पनि सामान्य तरिकाले बताए पनि अहिलेसम्मको समस्याको मूल कारणको विश्लेषण गर्न पुगेको रहेछु । हिजो त्यो सामाजिक शिक्षा विषय कस्तो नमिलेको जस्तो लाग्ने गर्थ्यो । आज त झन् व्यवहारमा पनि फरक रहेछ भनेर भयो । अहिले त्यो सामाजिक शिक्षा हाम्रो समाजको चित्रण होइन भन्ने लाग्छ । आजकल त्यो किताब हेर्दा हामीलाई सब कुरा गलत र नराम्रो देखाएर हाम्रो दिमाख भुट्ने किताब जस्तै लाग्छ ।

एसएलसीपछि ब्रिटिस काउन्सिलले सञ्चालन गर्ने पोस्ट एसएलसी भन्ने तिन महिने जतिको कार्यक्रममा भाग लिए । सो कार्यक्रममा जनावरको मासु निर्दयी तरिकाले बनाउँछ भनेर थाहा पाए । त्यो दिन मलाई धेरै नराम्रो लागेको थियो, हामीले आफू खुसी हुन कसरी अरुको हत्या गरिरहेको छौँ भनेर ज्ञान भयो । मानिस हुनुको औचित्यलाई प्रश्न गर्न पुगेँ । मानिसमा हुने भावना र करुणालाई प्रश्न गर्न थालेँ । त्यहि समय हो मैले पहिलो पल्ट प्रश्न गर्न सिकेको र आफू भित्र भएको करूणा केहि हद सम्म कार्यमा परिणत गर्न थालेको । साथीहरू मिलेर पहिलो पल्ट वृक्षारोपण गरेको नि यही समयमा हो । जीवनमा पाठ्यक्रम बाहेकको किताव पढन् पहिलो पल्ट थालेको पनि एसएलसी पछिको तिन महिने विदामा नै हो ।

नेपाली विषयलाई हाउगुजी बनाई दिने हाम्रो चलन नै हो त्यहि हाउगुझीले गर्दा चेल्सी भन्ने कलेजमा क्याम्ब्रिज विश्व विद्यालयको ए लेभल्स गरे । समाजशास्त्र,मनोविज्ञान र अर्थतन्त्र लिएर पढे । यहाँ तृप्ति थापा, सुमन न्यौपाने लगायतको करूणा मा विश्वास गर्ने शिक्षक भेटेँ । यो समयमा धैरै सामाजिक कार्य गर्न थाले । समाजलाई भोग्न थाले । समाज समाज भन्दाभन्दै र धैरै पुस्तक पढ्ने बानीले विदेश पढ्न जाउँकी लाग्यो लहैलहैमा अमेरिका मनोविज्ञान पढन् जान सोचेपछि गइन र के गर्नेभन्दा भन्दै समाजको नजिकको विषय कानुन पढ्न पुगेँ ।

समाजलाई सत्कर्ममा हिँडाउन योगदान गरेका युवराज सङ्ग्रौला, गीता पाठक लगायतको प्रेरणादायी व्यक्तित्वहरू भेटेँ । काठमाडौँ स्कुल अफ लमा क्लिनिकल विषयको कक्षामा ज्ञानु गौतम सरले सूचनाको हकको बारेमा पढाउनुभयो र त्यो प्रयोग गरेर परीक्षण गर्नु भन्नुभयो । म र मेरो साथी अरूण सत्याल लागी पर्यौं भगवान् श्री पशुपतिनाथतिर । सामान्य प्रश्न गर्यौं भगवानलाई अभिषेक गर्ने दुध, दही,घिउ , मह,चिनीको मूल्य कति ? सङ्घर्ष गरिरह्यौँ । १५ दिनभित्र पाउनुपर्ने कुराको लागि लामो सङ्घर्ष गर्यौ करिब डेढ वर्षपछि बल्ल राष्ट्रिय सूचना आयोगमा मुद्दा दर्ता गरेर सूचना पाइयो । यो सङ्घर्ष र सफलताले बोल्न र लड्न सिकायो ।

रानी पोखरीको संरक्षण गर्न पुगियो । स्विमिङ्ग पुल बन्न लागेको रानीपोखरीलाई प्रताप मल्लले बनाएको बेलाको शैलीमा बनाउन सफल भयौं । सोपछि पशुपतिको संरक्षण, वसन्तपुर दरबार स्क्वायरको संरक्षण, लुम्बिनीको संरक्षण, बागदरबारलगायतको विभिन्न मुद्दा दर्ता गरे । विद्यार्थी हुदाँ नै सर्वोच्चमा निवेदकको हैसियतमा बहस समेत गरे । करिब ३ घण्टा जति एउटा मुद्दामा बहस गरेको छु ।

सोपछि निजगढ विमानस्थल निर्माण गर्ने निर्णय विरुद्ध हामीले मद्दा दर्ता गरी हात्तीको हिँड्ने मार्ग र करिब ५०० प्रजातिको घर तथा विभिन्न वन्यजन्तुको घर र जङ्गल सम्मानित सर्वोच्च अदालतको निर्णयबाट बच्यो । धेरै खोला, पोखरीलयायतको वातावरण संरक्षणको मुद्दा हालेँ, अभियान चलाएँ । यो सबै मैले वकिल बन्नु अगाडि विद्यार्थी हुँदाखेरि नै गरेको हो । राती ४ घण्टा सुतेर अत्यन्त मेहनत गरेर म आज जे जति छु त्यति भएको हो । असल मित्र र अग्रजको सामीप्यता पाएकाले यस्तो भएको हो ।

अहिले नेपाल सरकारसँगको सहकार्यमा विभिन्न देशको प्रहरी, दुतावास, सरकारी वकिलसँग सहकार्य गरी नेपालबाट चोरिएको भगवान (मूर्ति) नेपालमा फिर्ता ल्याई मन्दिरमा पुनर्स्थापना गराउँछु । हाम्रो नेपाल हेरिटेज रिकभरी कैम्पनी भन्ने संस्था नै छ । त्यहीँबाट काम गर्छौं । यो एउटा अन्तर्राष्ट्रिय अभियान नै हुन पुगेछ र नेपाल बाहेकका देशका जनताको लागि समेत यो प्रेरणाको स्रोत भएको छ । चोरिएको मूर्ति पुन: चोरिएको देशमा फिर्ता भएर सङ्ग्रहालयमा नराखी मन्दिर मै फर्काएर पुन त्यो मूर्तिले जीवनता पाएको उदाहरण नेपालको यही अभियान र कार्य हो । त्यसपछि भारतलगायत देशले गर्न थालेका छन् ।

आज म रूखको, जनावरको, आउने पुस्ताको र कति समय भगवानको समेत वकिल हुन पुगेको छु । आफूलाई इच्छा लागेको विषय लिने हो । सोहि विषयमा मिहिनेत गर्ने र करियर भन्ने कुरा आफैं बन्दो रहेछ । पैसाँ यति कमाउछु, भोली यस्तो ठुलो मान्छे हुन्छु, मेरो बारेमा मान्छेले पढछन् वहावहा गर्छन् भनेर पनि मैले यो कुनै कार्य गरेको होईन वा संरक्षणकर्ता, Public Interest Litigator, अभियानकर्ता हुन्छु, आवाज भएका तर समाजले बुज्न ईन्कार गरेकाको आवाज बन्छु भनेर पढेको होइन । हामीले देखिआएको प्रकृति,संस्कृति र सभ्यताहरू हाम्रै आखाको अगाडि विनास गर्दा मन दुखेर प्रश्न गर्न थाले र त्यही प्रश्नको निरन्तरताबाट मेरो यो पहिचान भएको हो । मानिसमा भावना र करुणा छ भने चराचुरु‌ङ्गीको आवाज बुझन सक्छ र प्राचीन सभ्यतालाई भौतिक रूपमा मात्र नहेरी त्यसको सअमुर्त पक्ष र अलौकिक भावना बुझन सक्छ । मैले मेरो समय र काम सबै यसैमा लगाइरेको छु । म जे गरी रहेको छु, मलाई यसैमा सन्तुष्टि मिल्छ, मिठो निद्रा लाग्छ । अरु ७ पुस्ताको लागि पैसा कमाउलान् तर म आफ्नो र तिनको सन्तानको लागि बाँच्न योग्य सुसंस्कृत देश बनाउने अभियानमा छु । पैसा सात पुस्ताको लागि कमाएर के गर्नु पैसा नाकमा हाले अक्सिजन आउँदै निचारे पानी आउँदैन ।

मैले रहरले मात्र यो संरक्षणको कार्य गरेको होइन तर कानुनबाट एकदमै कम मान्छे यस कार्यमा अदालतमा सीमित भएकाले सडक र सदन साथै अदालतसम्मको बाटोमा अभियन्ता हुँदै हिँडेको हो । जब आवश्यकता हुन्छ, तब त्यहाँ दृढ़ इच्छाशक्ति हुन्छ । त्यो इच्छाशक्तिले आफूलाई केही गर्छु भन्ने क्षमता दिन्छ, तब अल्छी लाग्न पनि छाड्छ । यो अभियानमा लाग्नु मेरो इच्छा थिएन, आवश्यकता थियो ।

मैले एसएलसी मा गणितमा उत्कृष्ट ल्याएकाले विज्ञान पढनु भनेर धेरै व्यक्तिले भने तर मलाई रुचि नभएकाले मैले समाजसँग नजिक छ भनी मलाई लागेको विषय पढेँ । समाजको दायरामा बसेर आफ्नो इच्छा, सपनालाई मार्नु हुँदैन भन्ने मेरो भोगाई हो । आफूलाई मनले के गर्न मन लाग्छ, इच्छा के छ त्यो बुझी अगाडि बढ्नुपर्छ । पैसा धेरै कमाएर पछि बुढेसकालमा यो सपना थियो, यो विषय मन पर्थ्यो भनेर पश्चाताप गर्न नपरोस्, त्यसैले अहिले आफ्नो इच्छा र भावनालाई बुझौँ ।

वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।