प्रेरणाको स्रोत: परिश्रमको यात्रा
पाइलटको पोसाक देखेर सपना देखिएबाट पोसाकको सान कायम राखिरहेको बहुप्रतिभाशाली व्यक्तिको कथा
“गाउँबाट पढेका विद्यार्थी वा आर्थिक अवस्था कमजोर भएका विद्यार्थी, जो जस्तो अवस्थामा भए पनि आफूलाई सानो सोच्नु हुँदैन । सपना देख्नुहोस्, सपना देख्नु अपराध होइन । के तपाईँले आफूले आफूलाई सपना देख्नबाट, पूरा गर्नबाट बहाना बनाई आफैँलाई झुटो बोलिरहनु भएको त छैन? आफैँसँग प्रश्न गर्नुहोस् । ”
क्याप्टेन विजय लामा
मध्यम वर्गको परिवारमा जन्मिए, बाल्यकाल सामान्य रह्यो । कक्षा ५ सम्म English Preparatory School, लगनटोलमा पढेँ । स्कुल पढ्ने समयमा एकदमै बिरामी हुन्थेँ । १ हप्ता स्कुल पढ्न गए, ३ हप्ता घरमा बस्नुपर्थ्यो । शारीरिक रूपमा अस्वस्थ भए पनि लगनसँग पढ्ने भएकाले पढाइमा राम्रो थिएँ । कक्षा ६ पश्चात् St. Xaviers पढेँ र त्यसपश्चात दार्जीलिङमा ICSE गरे । मलाई सानै उमेरदेखि बुबा आमाले खेलकुद, पढाइ र अन्य क्षेत्रमा जे गर्न पनि साथ र हौसला दिनुहुन्थ्यो । यसैकारण गीत गाउनु परे पनि म मन खोलेर गाउथेँ, केही गर्न लगन दिएर गर्थेँ ।
घरबाट बाहिर बसी पढ्ने समयमा बाबाको कमाइले घर व्यवहार चलाउनुपर्ने भएकाले म आफैँ काम गरेर कमाउथेँ र आफैँ खर्च गर्थे । अभिनयमा रुचि भएकाले अभिनय गरिरहने क्रममा एक दिन पाइलटको भूमिका खेल्नुपर्दा मलाई पाइलटको पोसाकले नै पहिलोचोटि आकर्षित बनाएको थियो । त्यो लगाएपश्चात् बाटोदेखि प्लेनसम्म जाँदा अरु व्यक्तिहरूले हेर्ने नजरबाट झन् यो पाइलट पेसा मन पर्यो, पाइलट बन्न इच्छा लाग्यो । त्यहि दिनबाट म पाइलट बन्छु भनी प्रतिबद्धता जाहेर गरेँ र मिहिनेत गरेँ । अहिले ६१ वर्षको उमेरमा पनि म प्लेन उडाउँछु, आकाशमा घुम्छु । कामप्रतिको माया र लगन अहिले पनि छ ।
वि.स २०४१ मा आदर्श नारी चलचित्रबाट डेब्यु गरी अहिलेसम्म ३० ओटाभन्दा बढी नेपाली चलचित्र र हलिहुडमा पनि Everest नाम गरेको चलचित्रमा अभिनय गरे । सङ्गीतमा रुचि भएकाले शास्त्रीय सङ्गीतमा डिप्लोमा गरेको र बेलाबेलामा गीत पनि गाउँछु । ३६५ जना नेपाली कलाकारहरू गीत गाउनेमा सहभागी भई "Most Vocal Solos in song Recording" मा गिनिज वर्ल्ड रेकर्ड राख्न समेत सफल भए ।
यी सबै जीवनको सफलतामा प्रत्येक क्षेत्रमा, प्रत्येक समयमा गरेका मिहिनेत हुन् । सफलताको लागि मिहिनेत बाहेक अरु कुनै विकल्प छैन । अहिले व्यक्ति बहु: प्रतिभाशाली हुनुपर्दछ । एकदमै प्रतिस्पर्धा छ भनेर हतोत्साहित हुने होइन, बरु यी प्रतिस्पर्धाले झन् आफ्नो क्षमता निपुण गर्दछ, आफूलाई पहिला भन्दा अब्बल बनाउँछ ।
म एक मध्यम वर्गीय परिवारबाट आएर सपना देखिरहँदा कहिले पनि आफूलाई र आफ्नो सपनालाई सीमामा राखी सङ्कोच गरिनँ । गाउँबाट पढेका विद्यार्थी वा आर्थिक अवस्था कमजोर भएका विद्यार्थी, जो जस्तो अवस्थामा भए पनि आफूलाई सानो सोच्नु हुँदैन । गाउबाटै मिहिनेत गरेर आउनुभएकाहरू नै अहिले देशका राष्ट्रपति, प्रधानमन्त्री, ठुला ठुला डाक्टर, इन्जिनियरहरू छन् । एस. इ इ तपाईँहरूले एस. इ इ दिई सक्नुभयो । जिन्दगीको एउटा शैक्षिक खुड्किला पार गर्न सक्नु भइसक्यो, अब १२ कक्षा, स्नातक र त्योभन्दा उच्च शिक्षा किन पढ्न सक्नु हुन्न, अवश्य सक्नु हुन्छ । सपना देख्नुहोस्, सपना देख्नु अपराध होइन । ती सपनाहरूलाई पूरा गर्न दिन रात मिहिनेत गर्नुहोस् । यही देशमा धेरै रोजगारका अवसरहरू छन् । आफ्नै देशमा बसी पसिना चुहाउनुपर्छ, आफ्नो घर बनाउनुपर्छ । विदेश गएर छिमेकका घर दिन रात खटेर पसिना चुहाएर आफूलाई पछि केही हुन्न । आफ्नै घरको लागि यही बसेर केही गर्दा पछि आफैँलाई राम्रो हुन्छ ।
मेरो जीवनमा म सक्दिनँ, गर्नका लागि समय छैन भनी विभिन्न बहाना बनाएर झुटो बोलेँ । जब मैले आफूले आफूलाई झुटो बोलेको थाहा पाएँ, मैले बहानालाई मिहिनेत र लगनशीलताले जितेँ । समय व्यवस्थापन गरेँ, सोचेको सबै सपनाहरू पूरा गर्न सकेँ । म तपाईँलाई प्रश्न गर्दछु के तपाईँले आफूले आफूलाई सपना देख्नबाट, पूरा गर्नबाट बहाना बनाई आफैँलाई झुटो बोलिरहनु भएको त छैन ?