प्रेरणाको स्रोत: परिश्रमको यात्रा

कृषि अध्ययन गरेर गोल्ड मेडलिस्टबाट राजनीतिको यात्रासम्मको कथा

“विद्यार्थी भाइबहिनीहरूले अहिले नै करियर खोजी हाल्नुपर्छ, निर्णय गरिहाल्नु पर्छ भन्ने हुँदैन । पछि आफूलाई बुज्दै जाँदा करियरको बारेमा सोच्न सकिन्छ तर जुन विषय पढ्नुहुन्छ, जहाँ लाग्नु हुन्छ, त्यसमा इमान्दारीपूर्वक लाग्नुपर्छ । ”

माननीय डाक्टर विमला राई पौड्याल

मेरो बाल्यकाल मोरङ जिल्लाको चुनिमारी कल्याणपुर भन्ने गाउँमा बित्यो, अहिले त्यो ठाउँ रतुवामाइ नगरपालिका भएको छ । बाबा म सानै हुँदा बित्नु भएको हो । परिवारकी कान्छी छोरी म आमा, दिदी र दाजुहरूको स्याहारसम्भार र माया पाएर हुर्केँ । मोरङकै सरस्वती निम्न माध्यमिक विद्यालयमा कक्षा ७ सम्म पढे । त्यो विद्यालयमा कसैको घरमा विवाह, पूजा हुँदा सधैँ छुट्टी हुने, विद्यालयको डेस्क, बेन्च त्यहाँ बन्दोबस्त गर्नुपर्ने भएकाले । पढाइ धेरै चौरीमा हुन्थ्यो ।

सरस्वती विद्यालयमा कक्षा ७ सम्म मात्र पढाइ हुने भएकाले ८ कक्षा देखि घरबाट डेढ घण्टा जत्ती हिडेर सौठा माध्यमिक विद्यालयमा पढ्न जान्थे । कक्षा ८ मा ऐच्छिक गणित र अर्थशास्त्रमा एक छान्नुपर्ने हुन्थ्यो । मलाई गणित मन पर्ने भएकाले ऐच्छिक गणित लिने सोच बनाएको थिए र म त्यही पढ्न कक्षामा गए । ऐच्छिक गणित पढ्ने कक्षामा म मात्र एक्लै केटी रहेछु, नयाँ स्कुल, पहिला कुनै केटीले नपढेको बिषय म पढ्न गएकी थिए र म जाने बितिकै सबैले कहिले नदेखेको प्राणी जस्तो गरी हेरे । एक्लै केटी भएकाले मेरो कपाल तान्ने, केटाको पछि लाग्ने भनेर पेपरको डल्लाले हान्ने, हेप्ने गरेकाले शिक्षकलाई भन्न गए । शिक्षकले तिमी मात्रै केटी हो, अहिलेसम्म कुनै केटिले ऐच्छिक गणित पढेन त्यसैले बरु तिमी अबदेखि प्यान्ट लगाउ र कपाल छोटो बनाउ, अनि केटाहरूजस्तै देखिन्छौ भन्नुभयो । म रोएर घरमा सबैलाई सुनाए । त्यहाँबाट मैले स्कुल ड्रेसमा प्यान्ट लगाउन थालेँ । गणित पनि पढेँ ।

घरको पारिवारिक कारणले विराटनगर सर्नुपर्यो र विराटनगरको मिल्स माध्यमिक विद्यालयमा कक्षा ९ मा भर्ना भए । म घरमा आमाले भनुभएको सबै काम गर्थेँ । मेरो आमा ससाना बालबालिकालाई अक्षर चिनाएर संस्कृत पढाउने गर्नुहुन्थ्यो, म बच्चाहरूलाई गणित र विज्ञान ट्युसन पढाउथे । म कक्षा ५ मा हुँदा कक्षा ३ को विद्यार्थीहरूलाई पढाउने, अनि कक्षा ९ मा हुदा ७-८ का लाई पढाउँथे । ट्युसन पढाउने कार्यबाट त्यतिबेला एकजना पढाएको महिनाको पाँच रुपियाँ हुन्थ्यो । त्यसले पनि आफ्नो खर्च गर्न सक्ने पैसा कमाइन्थ्यो । साथसाथै मलाई पढाइमा पनि साथ दिएको थियो ।

मलाई डाक्टर हुन मन थियो तर एसएलसी मा मेरो केवल ५८% आएको थियो, छात्रवृत्ति नपाइने, साथसाथै मेडिकल पढ्न काठमाडौँ आउनुपर्ने हुन्थ्यो, जुन खर्च मेरो घरपरिवारले गर्न असमर्थ थियो । मामाको छोरा र मसँग पढ्ने, एकदिन उसले हेटौंडा र रामपुरमा बनको र कृषिको अध्ययनको बारेमा बुझेछ र सरकारले त्यहाँ राम्रो पढ्ने केटीहरूलाई छात्रवृत्ति दिने कुरा थाहा पाएछ। आइएससीको लागि मेरो पनि फर्म भर्न लगाए ।

मैले दुबैमा फर्म भरेँ र दुबैमा नाम निस्कियो पनि । अब कृषि पढ्ने कि वन ? दोधार भयो । ठुलो दाइसँग घरमा सल्लाह गर्ने क्रममा दाइले हिन्दी सिनेमा "अन्धा कानुन" मा फरेस्टरलाई बनका तस्करले दुख दिएको देख्नुभएछ । “त्यस्तो दुख पाउने, केटी भएर जङ्गल जानुपर्ने पेसा पढ्न हुँदैन, बरु कृषि पढ्ने र तरहराको माछा फारममा काम गर्नु” भन्नुभयो । यसरी म कृषि पढ्न चितवनको रामपुर क्याम्पस पुगेँ ।

रामपुरको अध्ययनमा मैले कृषिमा प्रमाणपत्र (ISc) र स्नातक (BSc) दुबै तहमा महिलामा सर्वोत्कृष्ट अङ्क प्राप्त गरेकाले ऐश्वर्य स्वर्ण पदक उपाधि पनि पाए । त्यसपश्चात् पाख्रिबास कृषि केन्द्रमा कृषि अनुसन्धानमा काम गर्दा गर्दै ब्रिटिस काउन्सिलको छात्रवृत्ति पाएँ र बेलायतको म्यान्चेस्टर युनिभर्सिटीबाट विकास प्रसासनमा पोस्टग्राजुएट डिप्लोमा अर्थशास्त्र र ग्रामीण विकासको व्यवस्थापन विषयमा स्नातकोत्तर गरे । नेपालमा फर्केर काम गर्न थालेको चार वर्षपछि फेरी नेदरल्यान्ड सरकारको छात्रवृत्तिमा हेग, नेदरल्यान्डबाट विकासशास्त्रमा पिएचडी गरेँ र डाक्टर उपाधी हासिल गरे ।

यसरी डाक्टर बन्ने सपना देखेको मैले, स्नातक, स्नातकोत्तर र पिएचडी सबै फरक फरक विषयमा पढेँ, काम पनि गर्दै विभिन्न विषयमा ज्ञान हासिल गर्दै आफूलाई बुज्दै राजनितिक क्षेत्रमा आई अहिले रास्ट्रिय सभाको सदस्य हुन सफल भएको छु । कक्षामा गणित पढ्नका निमित्त पनि केटीहरूले प्यान्ट लगाउनुपर्ने अवस्थाबाट माथि चढ्दै म नेपालको परराष्ट्र मन्त्रालयको मन्त्री पनि बन्ने अवसर पाए । हाल हाम्रो देशमा परराष्ट्र मन्त्री बन्ने महिलाहरूमा म तेस्रो महिलामा पर्छु । पहिला कक्षामा गणित पढ्दा पनि म आफ्नो चाख र खुबीमा विश्वास गर्थे, त्यसैले चुनौतीसँग डराइन र मेहनत गरेर सबैको मन जितेँ । अहिले सांसद र मन्त्रीको भूमिका पनि इमानदारीको साथ निर्वाह गरिरहेको छु ।

मेरो जीवन यात्रामा राजनितिज्ञ बन्छु भनेर कृषि पढेको थिइनँ । त्यो समयमा त्यही उपयुक्त रोजाइ थियो, तर पछि, पढ्दै, काम गर्दै जादा राजनीति अहम् विषय हो भन्ने लाग्यो र यता करियर बनाउँदै छु । विद्यार्थी भाइबहिनीहरूले अहिले नै करियर खोजी हाल्नुपर्छ, भविष्यमा यही बन्छु भन्ने हुँदैन । पछि आफूलाई बुज्दै जादा करियरको बारेमा सोच्न सकिन्छ अहिले चाहिँ, जे विषय छान्नुहुन्छ, जुन विषय पढ्नु हुन्छ, त्यसमा इमान्दारीपूर्वक लाग्नुपर्छ । मैले कृषि पढ्दा इमानदारीपूर्वक लगन दिएर पढेँ, गोल्ड मेडलिस्ट भए । यसले ठुलो हिम्मत दियो, आत्मविश्वासले जे पनि गर्न सकिन्छ, डराउनु हुन्न ।

घर परिवार आर्थिक अवस्थाले करियरको बारेमा सोच्न मुस्किल पार्छ, आफूले चाहेको, रोजेको पढ्न नपाइने पनि हुन सक्छ, सत्य हो तर यसैमा अल्झिनु हुन्न । अहिले धेरै अवसरहरू छन्, छात्रवृत्तिहरू छन् । नेपालमा नै घरको माया र खाना खाँदै नेपाल बुझ्दै स्नातक पढ्नुहोस् । नेपालमा राम्रो शैक्षिक संस्थाहरू छन्, यतै पढ्दा राम्रो हुन्छ, जानै मन भए उच्च शिक्षाको लागि विदेश जानुहोस तर नेपाल फर्किनुहोस्, यही देशमै केही गर्नुहोस् । विकसित देशले त विकास गरिसके, क्यारियरमा धेरै सिक्न पाइदैन, नेपालमा जत्ति पनि गर्न सिक्न र परिणाम ल्याउन सकिन्छ ।

राजनीतिमा रुचि र इच्छा छ भने यो एकदमै उत्कृष्ट हो तर राजनीति पेसा होइन, सेवा हो । आफ्नो एउटा व्यवसाय छान्ने, इमानदारसँग लगनशील भएर व्यवसायमा काम गर्ने, अनि आर्थिक रूपमा अब्बल भएपछि राजनितिबाट जनतालाई सेवा गर्न आउनुपर्छ जस्तो लाग्छ मलाई । राजनीतिज्ञ बन्न पढाइ उत्कृष्ट हुनुपर्छ भन्ने छैन । पिएचडी गरेकाहरू पनि राम्रो राजनीतिज्ञ बन्न सक्नुहुन्न, औपचारिक शिक्षा नपाएका राजनीतिज्ञ पनि राम्रो दूरदर्शी राजनीतिज्ञ हुन सक्छन् । चाख र देश, समाजको सेवाको भावनाले आउने व्यक्ति मात्र राम्रो राजनीतिज्ञ बन्न सक्नुहुन्छ ।

अहिलेका विद्यार्थीहरूलाई एसईई भनेको आइरन गेड होइन, केवल एउटा परीक्षा हो । समय छ, दिमाग खुल्ला राख्नुहोस् । आफ्नो इच्छा र रुचि बुझ्नुहोस् । मैले के गर्न सक्छु, कुन विषयमा राम्रो हुनुहुन्छ बुझ्नुहोस् । परिवारको सल्लाह लिनुहोस् तर आफ्नो निर्णय आफैँ गर्नुहोस् ।

वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।