प्रेरणाको स्रोत: परिश्रमको यात्रा
हिमाली परिवेशमा हुर्की बौद्ध दर्शन अध्ययन गरेपश्चात् मानव अधिकार र मानवीयताको बारेमा थप बुझ्न खोजी अहिले कानुनी विद्यार्थीसम्मको यात्रा
“परिवार, समुदायमा उच्च शिक्षाको लागि पहिलो भई अध्ययन गर्नु भनेको लाइनको पहिलो खच्चड जस्तो हो । अगाडि जाने खच्चडलाई अलि गाह्रो हुन्छ, बाटो देखाउनु पर्यो, लक्ष्य राख्नुपर्छ र पछिको खच्चडहरूलाई आउन सजिलो वातावरण हुन्छ ।”
जिग्मे दोर्जे लामा
गोर्खाको उत्तरी हिमाली भेग चुम्नुब्री गाउँपालिकाको सामागाउँमा मेरो जन्म भएको हो । मेरो गाउँ नेपाल र चिनको बोर्डर/ सिमा क्षेत्रको बिचमा पर्दछ । त्यही गाउँको श्री गौरीशङ्कर प्राथमिक विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरेँ । त्यो बेला गाउँमा विद्यालय त्यही मात्र थियो र कक्षा ५ सम्म अध्ययन गराइन्थ्यो । हुनेखानेहरूले आफ्नो बालबच्चालाई सहरमा लगेर पढाउँथे र अरुहरू विवाह बन्धनमा बाँधी आफ्नो पारिवारिक जिम्मेवारी पूरा गर्दै जीवनयापन गर्थे र यो जीवनशैली एकदमै सामान्य थियो ।
गाउँमा पढाउनुपर्छ भनेर सबैलाई थाहा थियो र चाहन्थे पनि तर काठमाडौँमा गएर होस्टेलमा बसेर, पैसा खर्च गरेर पढाउन सक्दैन थिए र कति परिवारहरूले कल्पना गर्न समेत गर्नुहुन्नथ्यो । मेरो पारिवारिक अवस्थाको बारेमा मलाई सानैदेखि अवगत थियो र धेरै ठुलो हुन्छु, यो सपना पूरा गर्छु भनेर सपना देखेको समेत थिइनँ । गाउँको सबै जना जसरी मैले पनि बाल्यकाल बिताए, शिक्षाबाट लक्ष्य राख्नुपर्छ भनेर सोचेको पनि थिइन र यसमा कुनै सङ्कोच, निराशता पनि थिएन । घरमा परिवारलाई हेर्नुपर्छ भन्ने पारिवारिक जिम्मेवारीको त अवगत थियो तर कसरी के गर्ने सोचेको थिइनँ, सानो पनि थिए त्यतिबेला ।
मेरो विद्यालयको प्राध्यापक फुर्बु लामा एकदमै दूरदर्शिता भएको र शिक्षाको महत्त्व बुझ्नुभएको व्यक्ति हुनुहुन्थ्यो । विद्यालयमा कक्षा ५ पढेपश्चात् उच्च शिक्षा पढ्न नपाउने र यस तरिकाबाट समाजको वास्तविकता परिवर्तन नहुने भन्ने बारेमा चिन्ता लिई, केही गर्छु भन्ने सोच र अठोट भएको व्यक्ति हुनुहुन्थ्यो । उहाले नै मलाई फ्रान्सको एउटा संस्थासँग आबद्ध गराउनु भएर, मेरो उच्च शिक्षाको लागि स्पोन्सर खोजी दिनुभयो ।
नाम्गेल माध्यमिक विद्यालयमा कक्षा ७ देखि १२ सम्म पढे । कक्षा ६ मा पढ्दापद्दै यस विद्यालयमा ७ मा भर्ना गरी पढेकाले आन्तरिक परीक्षाामा फेल भएँ । बल्ल प्रमोट गरेर माथि कक्षामा राखियो । कक्षा ८ र ९ मा एकदमै मिहिनेत गरेर पढाइमा राम्रो भयो । यस विद्यालयमा सम्भोट्टा लिपि तथा बौद्ध दर्शनको शिक्षा दिनुका साथसाथै अन्य विद्यालय जस्तै पाठ्यक्रम र पाठ्यपुस्तकहरू पढाइ हुन्थ्यो ।
विद्यालयमा पढिरहँदा बौद्ध दर्शनको अध्ययनबाट र सामाजिक परिवेशलाई नियाली हेर्दा मलाई मानवीय गुण, मानव अधिकार र सामाजिक कार्यको बारेमा बुझ्न मन लाग्यो । कक्षा १२ पश्चात् एकजना दाइसँग मानव अधिकारको बारेमा उच्च शिक्षाको बारेमा बुझिरहने क्रममा यो विषय उच्च शिक्षाको कोर्स नरहेको र कानुन पढ्दा यो विषय समेटिने थाहा पाए । त्यसपश्चात् मैले कानुन पढ्ने सोच बनाएँ, लक्ष्य राखेँ ।
अहिले म काठमाडौँ स्कुल अफ लमा चौथो वर्षमा अध्ययन गरिरहेको छु । मैले सोचेअनुसार नै मानव अधिकार विषयको बारेमा धेरै ज्ञान पाइरहेको छु । मेरो बौद्ध दर्शन पढेको पृष्ठभूमिबाट मानव अधिकार र मानवीयताको बारेमा मूल्याङ्कन पनि गर्छु । आफूले रोजेको विषय पढ्दा बडो रमाइलो लागिरहेको छ ।
चुमनुर्वी गाउँपालिकाको कानुन पढ्ने पहिलो विद्यार्थी म नै हुँ । घरमा उच्च शिक्षाको अध्ययन गर्ने म नै हुँ । घर, परिवार र समाजबाट आफ्नो परिवार समाजको लागि केही गर्छु भन्ने आशा राखेको छ र यसमा आत्म सरोपर गरेको छु। गाउँमा खच्चडहरू बाटामा गइरहँदा अगाडि जाने खच्चडलाई अलि गाह्रो हुन्छ, बाटो देखाउनुपर्यो, लक्ष्य राख्नुपर्छ र पछिको खच्चडहरूलाई आउन सजिलो वातावरण हुन्छ । म मेरो समुदायको र घरको अगाडिको खच्चड हु जस्तो लाग्छ र यो भूमिका खेल्न पाउनु र जिम्मेवारि बोक्न पाएकामा खुसी लाग्छ ।
मेरो विद्यालयमा प्रधायापकको भूमिकाले शिक्षाको ज्योति दिनु भइ मलाई आफ्नो रुचि, सपना देखाउन सहयोग गर्नुभयो, लक्ष्य बनाउन सहयोग गर्नुभयो। स्पोन्सरहरूको सहयोगले मैले आफूले आफ्नो क्षमता पहिचान गर्न सकिरहेको छु । कसैको सानो लाग्ने सहयोग कसैको जीवनमा वरदान हुने रहेछ ।