प्रेरणाको स्रोत: परिश्रमको यात्रा
सिनेमा पोस्टर भित्तामा टाँसी हिरोको अभिनय गर्नेदेखि अहिले आफैँले म्युजिक भिडियो र फ्लिममा सिर्जना, निर्देशक र अभिनय गर्न सफल भएको कथा
“आफ्नो व्यक्तिगत सपना र पारिवारिक जिम्मेवारी दुवैलाई सँगै सन्तुलन गर्न सिक्नुपर्दो रहेछ । आफूभित्र केही गर्छु भन्ने इच्छाशक्ति छ भने तपाईँले विकल्प खोज्नु हुन्छ । विकल्प खोज्न सक्ने शक्ति हुनुपर्छ र त्यही इच्छाशक्तिको उर्जालाई निरन्तर अगाडि बढाई मिहिनेत गर्नुपर्छ । ”
प्रकाश सपूत
म वाग्लुङमा धम्जा गाउँमा जन्मिएँ र त्यहीको ग्रामीण इलाकामा हुर्केँ । विकासका पूर्वाधारहरू गाउँमा पुगेका थिएनन् तर बाल्यकाल साथीहरूसँग अरुहरूको जस्तै रमाइलो नै थियो । जनता प्राथमिक विद्यालयमा ५ कक्षासम्म पढे र घरबाट डेढ घण्टा हिँडेर लक्ष्मी माध्यमिक विद्यालयमा पढ्न जान्थे ।
कक्षा ८ मा फेल भए, नराम्रो लाग्यो तर त्यही समयपश्चात् मलाई पढ्नमा झन रुचि लागेको थियो । त्यही पछि मैले मुनामदन, शिरिषको फूल जस्ता विभिन्न उपन्यासहरू पढ्न थाले । विद्यालयको पनि पढाइमा सुधार भयो । वि.स. २०६३ तिर एसएलसी मा सेकेन्ड डिभिजन ल्याएर पास भए, तब ठुलो कुरा थियो । घरमा सबै जना खुसी हुनुहुन्थ्यो ।
कक्षा १० पश्चात् कम्प्युटर, bridge course हरू सिक्ने गर्छन्, जुन मैले गरिनँ । घरमा जेठो छोरा भएकाले आर्थिक र पारिवारिक जिम्मेवारी थियो । बाबा बाहिर काम गर्नु हुनुहुन्थ्यो र उहाँको एक्लो कमाइले परिवार नै पाल्न गार्हो हुन्थ्यो । मलाई एसएलसीपछि पनि पढ्न मन थियो । त्यसैले कक्षा ११ मा भर्ना भएँ । होटेल, फर्निचरहरूमा काम गरेर मैले कक्षा ११ र १२ पास पनि गरेँ ।
कक्षा १२ मा हुँदा रेडियोमा पनि काम गर्न पाएँ । सानोमा रेडियो सुन्दा यसरी बोल्ने पाएँ, गाउन पाए भन्ने कल्पना गर्थे । रेडियोमा काम गरेपश्चात् लेख्ने कला र बोल्ने कलामा आफूलाई निपुण गर्न पाएँ । कक्षा १२ पछि पारिवारिक जिम्मेवारी बहन गर्न मैले कतारको सेक्युरिटी गार्डको तालिम लिएँ तर उमेर सानो भएकाले जान पाइनँ । बाग्लुङ नै फर्के । तब अलिकति बचेको पैसाले किताब किने ।
गाउँमा हजुरबुबाले भजन गाउनुहुन्थ्यो, मलाई सानैबाट दोहोरी गाउनमा रुचि थियो । जिल्लास्तरीय कार्यक्रमहरूमा दोहोरी गाउन जान्थेँ । कति प्रतियोगिताहरूमा जितेपछि पैसा पाउँछ र त्यो पैसाले कोठा भाडा तिर्न घरव्यवहार चलाउन सकिन्छ भनेर नै प्रतियोगितामा भाग लिन्थे । घरको आर्थिक अवस्थाको कारणले जीवनमा सानै उमेरदेखि जिम्मेवारी बोध गर्न सिकायो । आफ्नो व्यक्तिगत सपना र पारिवारिक जिम्मेवारी दुबैलाई सँगै सन्तुलन गर्न सिक्नुपर्दो रहेछ, जुन मैले सङ्घर्षको समयमा सिँके । यी पारिवारिक जिम्मेवारी बहन गरिरहँदा आफ्नो व्यक्तिगत सपना पूरा गर्न र आफूलाई चिन्न पनि सहज हुन्छ ।
दोहोरी साझमा साँझ ६ बजेबाट राति १२ बजेसम्म दोहोरो गर्थे । दिउँसो सुटिङ भएको ठाउँहरूमा जान्थे र काम कसरी हुन्छ भनेर हेर्थे । अलिअलि पैसा जम्मा गर्दै गरेको थिएँ र पछि आफैँले एल्बम निकाल्न सकेँ । सानोमा फ्लिमको हिरोहरू देखेर आफूलाई त्यस्तै अन्दाजमा हिँड्न मन लाग्थ्यो, बोल्न मन लाग्थ्यो । सिनेमा पोस्टरहरू घरमा ल्याएर भित्तामा टास्थेँ । अहिले म आफैँ म्युजिक भिडियोहरू निकाल्छु, निर्देशनमा गर्छु । भिडियोमा अभिनय पनि गर्छु । नयाँ फ्लिम पनि अब आउँदै छ । यी विभिन्न विधाहरूमा मैले पहिला सङ्घर्षको समयमा नै अनुभव लिएको हुनाले अहिले गर्न सकेको हुँ ।
किताब पढ्ने बानीले मलाई समाजलाई हेर्ने दृष्टिकोण बनाउन, सामाजिक समस्यालाई पहिचान गर्न सहयोग गरेको छ, जुन म मेरो म्युजिक भिडियोहरूमा प्रस्तुत गरिरहेको हुन्छु । आफूले केही गर्न नसके अरुलाई दोष दिने हाम्रो चलन छ । पारिवारिक अवस्था, घरको आर्थिक अवस्था राम्रो भएको यस्तो गर्थे उस्तो गर्थे भनेर कसैलाई त दोष दिन्छौं । तर आफूभित्र केही गर्छु भन्ने इच्छाशक्ति छ भने तपाईँले विकल्प खोज्नु हुन्छ । विकल्प खोज्न सक्ने शक्ति हुनुपर्छ र त्यही इच्छाशक्तिको उर्जालाई निरन्तर अगाडि बढाई मिहिनेत गर्नुपर्छ ।
प्रत्येक कामको आफ्नै राम्रो र गार्हो पक्ष हुन्छ । अहिले हजारौं व्यक्तिहरूले मलाई चिन्नुहुन्छ, म खुसी हुन्छु तर यही समयमा म आफ्नो घर परिवार बच्चासँग खुलेर बाहिर रमाइलो गर्न सक्दिन । मैले यही कुरामा सम्झौता गरेर नै यो सफलता पाएको हुँ । त्यसैले कुनै पनि करियरको बारेमा सपना देख्दा यी दुबै याद गर्नुपर्छ । अरुलाई दोष दिने समय र उर्जा आफूलाई कसरी राम्रो बनाउने भन्नेमा दिनुपर्छ । सबै करियरको एउटै बाटो र तरिका हुँदैन,सबैको आफ्नो जीवन यात्रा हो । कसैसँग आफूलाई र आफ्नो जीवन यात्रासँग तुलना गर्नु हुँदैन ।
जीवनलाई धेरै गाह्रो तरिकाले पनि नलिनुहोस् । आफ्नै जीवन यात्रामा आफ्नै तरिकाले आफूलाई बुझी अगाडि बढ्नुहोस् । धेरै अवसर र विकल्पहरू छन् । आफ्नो लक्ष्यमा अगाडि बढिरहँदा विभिन्न विकल्पहरू खोज्न सक्ने शक्ति हुनुपर्छ ।