प्रेरणाको स्रोत: परिश्रमको यात्रा

सामाजिक, आर्थिक अवरोधहरूलाई सामना गर्दै समुदायको पहिलो डाक्टर बन्न सफल व्यक्तिको कथा

“पहिला मैले छोएको पानी खान नहुने भन्ने व्यक्तिहरू, अहिले मैले भनेको औषधी सेवन गर्नुहुन्छ । म सक्छु भनेर लड्नुपर्छ तर कहिलेकाहीँ एकदमै गार्‍हो परेको अवस्थामा सहयोग माग्नुपर्छ । सहयोग माग्न सक्नु भनेको दिमागको बलियो पाटो हो ।””

रामजी राम

रौतहटको गढिमाई नगरपालिकामा जन्मेँ । त्यहीको अल्पसङ्ख्यक दलित चमार समुदायमा हुर्केँ, बढेँ । श्री प्रा. वि. इनर्वामा पढिरहँदा कक्षा ३ मा हुँदा प्रथम भएँ । विद्यालयमा शिक्षकहरूले पढ्न र बोल्न प्रोत्साहन गर्नुहुन्थ्यो ।

समुदायमा दलित भएकै कारणले मैले छोएको पानी खान हुन्‍न भनी गाउँका एक जना महिलाले बताउँदा मैले जातीय संरचनाको बारेमा प्रश्न गर्न थाले । घरमा बाबाले मलाई पढ्नका लागि एकदम प्रेरणा दिनु हुन्थ्यो । मैले कक्षा १२ पढिरहँदा मेरो जातकै कारणले कोठा पाउन मुस्किल भएको थियो । त्यसपश्‍चात् काठमाडौँमा काम गर्नको लागि गए ।

काठमाडौँमा प्रेसरकुकर मर्मत गर्ने र झोला बनाउने काम केही समयसम्म गरे । काठमाडौँमा सुकुम्बासी टोलमा बसेँ । मैले त्यस बेला एमविविएस को प्रवेश परीक्षाको फारामको लागि किताब बेचेर दाइहरूसँग पैसा मागे । परीक्षा दिए र पास पनि भएँ । मैले नेपाल सरकारबाट चमार समुदायका लागि एमविविएसको छात्रवृत्तिको बारेमा जानकारी पाएको थिएँ ।

पढ्ने कोठाको वातावरण नभएकाले कक्षा खाली भएको समयको उपयोग गरी सबै गएपश्चात् खाली कक्षा खोजी कक्षामा पढ्दै बस्थे । पढ्न मुस्किल लागेको समयमा बाबाको याद आउँथ्यो । मेरो प्रेरणाको स्रोत बाबा नै हुनुहुन्छ । बाबा ८ घण्टा कोदालो बोकेर काम गर्नुहुन्छ भने म ८ घण्टा यही किताबमा ध्यान गर्न किन सक्दिन र भनेर पढ्न थाल्थे। जुन विषय एकचोटि पढेर बुझिँदैन थियो, त्यो ३,४ चोटि पढ्दा बुझिहाल्थे । मैले एमविविएस पढिरहँदा केवल २ घण्टा मात्र पढेता पनि इमानदारितासँग पढ्नुपर्छ भन्ने कुरा सिकेँ ।

नेपाल सरकारको मद्दतबाट छात्रवृत्ति पाए पनि बिचमा थुप्रै नीतिगत समस्याको लागि सङ्घर्ष गर्नुपर्यो । आफ्नो शैक्षिक सङ्घर्ष र प्रत्येक दिनको पारिवारिक आर्थिक अवस्था र सामाजिक परम्परासँगको प्रत्येक सङ्घर्षबाट अगाडि बढिरहँदा म डाक्टर बन्न सफल भए ।

डाक्टरको परीक्षा पास भएको रिजल्ट आउने बितिक्कै घरमा कल गरे । आमा खेतमा हुनुहुन्थ्यो र बाबा बाहिर काममा हुनुहुन्थ्यो ।त्यहाँको दाइलाई भने । केही समयपश्चात् बाबासँग कुरा हुदा “बधाई छ, डाक्टर साब" भन्नुभयो । सधैँ छोरा भनेर सुनिने बाबाबाट डाक्टर साब सुन्दा तब गर्वको महसुस भयो , केही गर्न सके जस्तो महसुस भयो ।

रिजल्ट आएको केही दिनपश्चात् घर जाँदा सबै त्यही हुनुहुन्थ्यो तर कसैको मुखबाट केही निस्केको थिएन । त्यो समयमा यत्ति धेरै सङ्घर्षबाट हामी सबै सफल भएको जस्तो महसुस भएको थियो । कति समयपश्चात् राहतको सास फेर्न सक्यौँ हामी सबैले । चमार समुदायको म पहिलो डाक्टर हुन सके र म अझ धेरै भाइबहिनीहरू पनि अघि आउनुपर्छ जस्तो लाग्छ । पहिला राम्रो राम्रो किताब, लुगा नपाए पनि आखिर मैले पढेँ भन्ने महसुस हुन्छ । समुदायको प्रत्येक बालबालिकाहरू विद्यालयमा भर्ना भई शिक्षा हासिल गर्नुपर्छ ।

एमविविएस पढ्ने क्रममा मेरो लुगा आफ्नो शरीरभन्दा धेरै ठुलो साइजको हुन्थ्यो । त्यो लुगा अरुहरूले दिएको भएर मेरो जिउमा फिट नभएको तर म त्यो लुगा लगाउन पाएर फुरुङ्ग । म अहिले डाक्टर पेसामा छु, पढाउँछु पनि । पहिला पानी खान नहुने भन्ने व्यक्तिहरू, अहिले मैले भनेको औषधी सेवन गर्नुहुन्छ ।

शिक्षाले सपना देखाउन सिकाउँछ र त्यो सपनालाई साकार गर्न आफूले मिहिनेत गर्नुपर्छ । म डाक्टर हुनुमा धेरै व्यक्तिहरूको सहयोग छ । म सक्छु भनेर लड्नुपर्छ तर कहिलेकाहीँ एकदमै गार्‍हो परेको अवस्थामा सहयोग माग्नुपर्छ । सहयोग माग्न सक्नु भनेको दिमागको बलियो पाटो हो ।

वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।