प्रेरणाको स्रोत: परिश्रमको यात्रा
समाज र कानुनी अवरोधसँग लड्दै आफ्नो व्यक्तिगत पहिचान र करियर बनाउन सफल व्यक्तिको कथा
“समाजमा नयाँ सोच ल्याउन र समाजको सोचलाई परिमार्जन गर्न सजिलो छैन । तर कसैले प्रयास पनि नगर्ने हो भने यो अवस्था कहिल्यै फेरिँदैन । समाजको सोचाईले गर्दा आफूले भोग्नु परेको पीडालाई सम्झिएँ र यसलाई चलिरहन दिनु हुन्न, फेर्नु पर्छ भन्ने सोचले काम गर्न थालेँ। नेपालमा केही छैन, त्यसैले विदेश जानुपर्छ भन्छन् । मलाई चाहिँ नेपालमा केही छैन त्यसैले केही गर्ने ठाउँ पनि टन्नै छ जस्तो लाग्छ । त्यो केही नभएको ठाउँमा केही सुरुवात गर्ने तपाइँ हामी नै त हुन सक्छौँ नि। ”
रुक्शना कपाली
मेरो जन्म यल अर्थात् पाटनमा भएको हो । मेरो जन्म नेवाः जातिमा र त्यस भित्र पनि जुगि समुदायमा भयो । जन्मको बेला मेरो खुट्टा बाङ्गो थियो । खुट्टाको पैताला माथी फर्किएको थियो । यसलाई डाक्टरको भाषा क्लब फीट भनिन्छ । म जन्मेको बेला त्यसको अपरेशन गर्न मिल्दैन थियो रे । त्यसैले अनेकौँ उपाय लगाएर खुट्टा सिधा बनाउन तर्फ लागेँ । अहिले त्यही अवस्था त छैन, तर पूरै सिधा भएको पनि छैन । म एक पारलैङ्गिक महिला हुँ । अङ्ग्रेजी शब्द ट्रान्सजेण्डर वुमेन वा ट्रान्सवुमेन हो । मलाई जन्मँदा शारीरिक अङ्गका आधारमा छोरामान्छे भनिएको थियो । तर मलाई आफू केटा जस्तो कहिल्यै लागेन । मेरो लागि म सँधै केटी नै थिएँ । १३/१४ वर्षको उमेर हुँदा देखि बिस्तारी अरूलाई पनि आफ्नो अनुभव भन्न थालेँ । १६ वर्षको उमेर देखि खुलेर नै महिलाकै रूपमा जीवन निर्वाह गर्न थालेँ ।
मैले सबैभन्दा सुरुमा आफू ठूलो भएपछी के बन्छु भन्ने कुरामा सर्जु अन्कल बन्छु भन्थेँ रे । यसो भन्ने गरेको मलाई याद छैन, तर मेरो आमा बुबाले सुनाउनु हुन्छ । सर्जु अन्कल भनेको चाहिँ मलाई सानै देखि हेर्नुभएको डाक्टरको नाम हो । अलिकति ठूलो भएपछी आफू शिक्षक बन्छु भन्ने गरेको पनि याद छ ।
कक्षा ७ को एउटा घटनाले मेरो जीवनमा स्थायी छाप छोड्यो । सुजन सर भन्ने नयाँ शिक्षक आउनुभएको थियो । वहाँको पढाउने तरीकाले म प्रभावित भएँ । वहाँसँग धेरै भाषाहरूको ज्ञान पनि थियो जसले मलाई मोहित बनायो । त्यही समय देखि मलाई भाषामा रूची हुन थालेको हो । विद्यालयमै हुँदा मैले अनलाइन मार्फत् भाषाहरूको बारेमा खोज्न र पढ्न थालेँ । त्यही समयमा बिहान एउटा इन्सिच्यूटमा फ्रेन्च भाषा पनि ३ महिना सिकेँ ।त्यही समयमा नै मैले नजीकैको इन्सिच्यूटबाट नेपाल लिपि र रञ्जना लिपि सिकेँ । त्यहाँबाट मेरो मातृभाषा प्रतिको प्रेम र चाहना अझै प्रगाढ हुँदै गयो ।
भाषाहरूकै अध्ययन गर्ने विज्ञान पनि रहेछ भन्ने थाहा पाएँ । भाषाविज्ञान मलाई औपचारिक रूपमा नै पढ्न मन थियो । कक्षा १० (त्यो बेला एसएलसी) सकिसकेपछी कक्षा ११/ १२ (त्यो बेला +२) पढ्ने बेला नै भाषाविज्ञान र नेपाल भाषा विषय लिएर पढ्न मन थियो । तर पाठ्यक्रममा ती विषय भएतापनि पढ्ने विद्यार्थी धेरै नहुने भएर कुनै क्याम्पसमा त्यो विषयको पढाई हुँदैनथियो । मैले त्रिभुवन विश्वविद्यालयको भाषाविज्ञान विभागमा सम्पर्क राखेँ । उनीहरूको वेबसाइट खोजेँ, ईमेल ठेगाना प्राप्त गरेँ र ईमेल लेखेँ । वहाँहरूले +२ तहमा कुनै क्याम्पसमा अध्ययन नहुने तर स्नातक तह देखि अध्ययन हुने जानकारी पाएँ । त्रिभुवन विश्वविद्यालयकै नेपाल भाषा केन्द्रिय विभागमा सम्पर्क गरेँ । तर विद्यार्थी धेरै नहुने भएकाले कुनै क्याम्पसमा बन्दोबस्त पाइनँ ।
भविष्यमा भाषाकै क्षेत्रमा काम गर्ने इच्छा भएकाले +२ मा मैले मानविकी संकायमा भर्ना हुने निर्णय गरेँ । तर मलाई आफन्तहरूबाट विरोध खप्नुपर्यो । मानविकी संकायमा स्कोप नै छैन, यो काम लाग्ने विषय नै होइन, विज्ञान वा व्यवस्थापन संकाय मध्ये एक रोज भन्ने दबाब पनि नपाएको होइन । तर म आफू के गर्न चाहन्छु भन्ने विषयमा विश्वस्त भइसकेको थिएँ । म आफ्नो निर्णयमा अडिग रहेँ । कुनै पनि विषय आफैमा सजिलो वा गाह्रो भन्ने हुँदैन । सबै विषयमा मिहिनेत लगनशीलता लाग्छ । तर उक्त विषयमा आफ्नो रूची हुनपर्छ । रूची नै नभइकन समाजको लागि, अरूको लागि वा देखावटी गर्नको लागि पढिदिँदा त्यो पढाईलाई लिएर के गर्ने भन्ने कुरामा पनि असर पुग्छ । रूची नभएको पढाई पछी रूची नभएको काम पनि स्वीकार्नुपर्ने हुन्छ । मैले मानविकी संकायमा एम्स एकाडेमिबाट +२ अध्ययन गरेँ ।
सानो बचाले भाषा कसरी सिक्छ ? दुई वा दुई भन्दा बढी भाषा सिक्दा बच्चाहरू कसरी हुर्किन्छ? नेपालमा १०० भन्दा बढी भाषाहरू बोलिन्छ । ती भाषाहरूको अवस्था कस्तो छ ? नेपालमा लिपिहरूको अवस्था कस्तो छ ? यस्ता विभिन्न प्रश्नहरु मनमा मेरो खेलिरहने गर्थ्यो । भाषा अनुसार संसारलाई र जीवनलाई हेर्ने परिदृश्य पनि फरक पर्न सक्छ । भाषाले प्रस्तुत गर्ने अभिव्यक्ति, लय र यसको व्यक्तिमा प्रभाव जस्ता विषयमा उत्सुकता थियो । त्यसै गरी आफ्नो मातृभाषाको इतिहास, वर्तमान र भविष्य बारे चासो चिन्ता महसुस हुँदा त्यसमा आफूले कसरी योगदान दिन सक्छु भन्ने विषयमा सोच्न थालेँ ।
भाषाको महत्व प्रत्येक क्षेत्रमा छ । क्षेत्र अनुसार भाषाको स्वरूप फरक हुन सक्छ भने आ-आफ्नै शब्दहरू पनि हुन्छ । भाषा अभिव्यक्ति हो र राम्रो प्रस्तुती हुनका लागि अभिव्यक्ति पनि बलियो हुनुपर्छ ।
अहिले म विभिन्न भाषाको अध्ययन गरिरहेको छु । आफ्नो मातृभाषा नेपाल भाषा बाहेक बाल्यकाल देखि नै नेपाली र अङ्ग्रेजी भाषाको ज्ञान थियो । भारतीय चलचित्रको कारणले हिन्दी भाषा सन्ने र बुझ्ने गर्थेँ । गत वर्ष हिन्दी भाषामा कक्षा १२ सरहको कक्षा लिएर उत्तीर्ण भएँ । उर्दू भाषा सिक्न थालेपछी दिमागले लिपि र अक्षरलाई हेर्ने नजरिया पनि फेर्नु पर्यो । बायाँबाट दायाँ सरर पढ्न सक्ने आँखाले दायाँबाट बायाँ पढ्न थाल्नुपर्यो । तिब्बती भाषाको स्वरूप र बनोटले मेरो सोचाईलाई नयाँ आयाम दियो । नेपालमा हामी कतिपय आधुनिक सामाग्री उपकरणहरूको नाम सोझै अङ्ग्रेजी भाषाकै प्रयोग गर्छौँ । तिब्बती भाषीहरूले आफ्नो मौलिकतालाई जगेर्ना गरेका रहेछन् । रेडियो, टेलिभिजन, फोन, डेक्सटप, ल्याप्टप जस्ता शब्दहरू पनि आफ्नै भाषामा छन् र प्रयोग पनि गर्छन् । चिनियाँ भाषा सिक्न थाल्दा मुख र जिब्रोले नयाँ ढङ्गको हलचल सिक्नुपर्यो । कहिल्यै ननिकालेको आवाज मुखबाट निकाल्न र त्यस्ता स्वरलाई सुनेर बुझ्न थाल्नुपर्यो । सुन्न र बोल्न - लेख्ने र पढ्न जानेको दिमागले यी सबैलाई पर हटएर आँखाबाट बुझ्ने र हातबाट बोल्ने तरीका नेपाली सांकेतिक भाषाबाट सिकियो । यसरी विभिन्न भाषा सिक्दा ती भाषामा भएका अथाह ज्ञान हासिल गर्ने बाटो खुल्यो । ती समुदायसँग उनीहरूकै भाषामा संवाद गर्दाको समयमा अपनत्व र माया पाउदा मन फ़ुरुङ्गै हुन्छ ।
मैले त्रिभुवन विश्वविद्यालयको त्रिचन्द्र बहुमुखी क्याम्पसबाट भाषाविज्ञान विषय लिएर स्नातक तह उत्तीर्ण गरेँ ।भाषाविज्ञानको क्षेत्र त छँदैछ, तर परिस्थितिले मेरो जीवनमा अर्को इच्छालाई जगायो र त्यो हो कानून । आफू पारलैङ्गिक व्यक्ति भएकै कारण समाजबाट मात्र नभएर सरकार, राज्य, कानूनबाट पनि बाधा अवरोध र चुनौतीहरूको सामना गर्नुपर्यो । त्यसरी चुनौतीहरू आइपर्दा कि सहेर बस्न पर्यो, कि त त्यसको प्रतिवाद गर्नपर्यो । मैले भनेँ प्रतिवाद गरेँ । आफू र आफू जस्तै पारलैङ्गिक व्यक्तिहरूको हकहितको लागि लड्न मैले कानून विषय पढ्नुपर्छ भन्ने लागेपछी हाल पूर्वाञ्चल विश्वविद्यालयको क्रवर्ती हबि एजुकेसन एकेडेमी बि.ए.एल.एल.बि. अध्ययन गर्दैछु ।
नेपाल विकासोन्मुख देश हो । हाम्रो देशमा सोचेजस्तो भनेजस्तो सबै कुरा नहोला । त्यो नहुनु पनि एउटा अवशर नै हो । त्यो विषयको सुरुवात तपाइँबाट नै हुन सक्छ । नेपालमा पहिलो पटक फलानो क्षेत्रलाई अगाडी बढाउने व्यक्तिको रूपमा चिनिन सक्नुहुन्छ ।
हाम्रो समाजमा चलन्चल्ती भन्दा अलिकती फरक हुँदा मानिसहरूले विचलन महसुस गर्छन् । चलन्चल्तीमा धेरैले गरिरहेको काम मात्र काम हो भन्ने सोचाई छ । नयाँ विषयहरूको पनि सृजना गर्न सकिन्छ ।