प्रेरणाको स्रोत: परिश्रमको यात्रा
लुकेर स्कुल पढ्न जाँदादेखि विश्वमै पहिलोपटक नयाँ उच्च शैक्षिक पाठ्यक्रम ल्याई नेतृत्व समालेको कथा
“आफूमा इच्छाशक्ति छ भने सपना पूरा गर्न सकिन्छ, नसोचिएको सफलता हासिल गर्न सकिन्छ, आफैँ दङ्ग हुने गरी । उच्च शिक्षा लिने क्रममा साथीले के पढ्यो, ट्रेन्ड के छ भन्नेमा ध्यान नदिई आफूलाई कुन क्षेत्रमा इच्छा छ, कुन रोजगारीमा अवसरहरू धेरै छन्, आफ्नो क्षमता र रुचि पहिचान गर्नुपर्दछ र त्यसैमा आफ्नो लगन र इमान्दारिता दिनुपर्छ ।”
लाक्पाफुटी शेर्पा
सोलुखुम्बुको चौरिँखर्क स्कुलमा केही समय अध्ययन गरिरहदा नयाँ नयाँ शब्दहरू सिक्न पाएँ । औधी रुचि लाग्यो । तर केही समयपछि घरबाट जेठी छोरी भएकाले आफ्नो पारिवारिक दायित्व पूरा गर्नका लागि औपचारिक शिक्षाको लागि वञ्चित भए । त्यसबखत छोरीहरू स्कुलमा पढ्न जाने चलन नै थिएन । स्कुलको हेडमास्टरले तपाईँको छोरीको पढाइ राम्रो छ, छिटो सिक्छ भनेर आमाबुबालाई सम्झाइ बुझाइ गर्दा पनि मान्नु भएन ।
आफूलाई स्कुलमा नयाँ कुरा सिक्न पाउने रुचि भएकाले घरबाट जङ्गलमा दाउरा, सोत्तर सोर्न जान्छु भनी स्कुलमा भागेर पढ्न जान्थे । घरमा फर्किँदा अलिअलि दाउरा, सोत्तर ल्याएर काम गरेको जस्तो नाटक गर्थेँ । लुकेर पढ्न गएकाले खाजा हुन्नथ्यो र आफू भन्दा ४,५ जना जेठा दाइहरूसँग खेल खेली जितेर आलु, मकै पाउँथे र त्यही खाने गर्थे । केही समयपछि लुकेर पढ्न गएको कुरा घरमा थाहा पाए पछि स्कुल जान बन्द भयो ।
हिमाल चढ्नका लागि विदेशी पर्यटकहरू हाम्रो घरको बाटो हुँदै जान्थे । उनीहरूको सुकिलो फुकिलो जिउ र जीवनशैली देखेर दङ्ग पर्थे । आफूलाई सानै उमेरदेखि केही गर्नुपर्छ भनेर सोच्थे, अठोट गर्थे । केही गर्छु भन्ने सोची १४ वर्षको उमेरमा काठमाडौँमा भागेर आए । सानीआमाहरू हुनुहुन्थ्यो र उहाँहरू सङ्गै बसि कित्चेन गर्लको रूपमा ट्रेकिङमा जान थालेँ । यही काठमाडौँमा आएपश्चात् १,२ घन्टा पढ्न थाले र यसैको आधारमा मैले चिट्ठीमा सम्बोधन कसरी गर्ने, कसरी लेख्ने भन्ने सिकेँ, भाइबहिनीहरूलाई पनि सिकाएँ ।
हिमाली क्षेत्रमा बाल्यकाल बिताएको, यहाँको कथा सुनेको हावापानीमा हुर्केको र मेरो कार्यक्षेत्र पनि यही रह्यो । पासाङ ल्हामु शेर्पासँग नेपालको पहिलो महिला सगरमाथा आरोहण अभियानको यात्रामा सहयात्री हुन पाएको थिए। युरोपको उच्च शिखरहरूमा १९८४ देझी १९९० सम्म स्की गर्ने पहिलो नेपाली भई नेपालमा स्की ल्याउन पनि सफल भए । विश्वमै पहिलो पटक पर्वातारोहण (mountaineering) मा उच्च शिक्षा त्रिभुवन विश्वविद्यालयको सम्बद्धमा हामीले ल्याएका थियौँ । विभिन्न विदेशी विश्वविद्यालयहरूले पर्वातारोहण सम्बन्धित पाठ्यक्रमका लागि आह्वान गरेता पनि नेपालको हिमालको परिवेश, कथा, संस्कृतिको झलक र वास्तविकताको बारेमा शिक्षा हासिल गर्नका लागि नेपालमै पाठ्यक्रम हुनुपर्ने विश्वास गरी त्रिभुवन विश्वविद्यालयको सम्बद्धमा विश्वमै नरहेको पाठ्यक्रम हामीले ल्यायौँ र ११,१२ कक्षामा पनि यसको बारेमा अध्ययन अध्यापन भइरहेको छ । Nepal Mountain Academy मा ८ वर्ष कार्यकारी निर्देशक र २ वर्ष अध्यक्षका भूमिका खेल्न सफल भए । महिला पर्वतारोहीको रूपमा विश्व सामु नेपाललाई चिनाउन सकेँ । “हिमालमा ४० वर्ष” नामक किताबमा Buckingham Palace बाट राजा चार्ल्सद्वारा पर्वातारोही र संरक्षणकर्ताको रूपमा सम्मान गरी चिठी पठाइएको थियो, जुन मैले सपनामा पनि कल्पना गर्न सक्दिन थिए ।
जीवनमा केही गर्छु भन्ने इच्छाशक्ति हुनुपर्छ र त्यसैले हामीलाई अगाडि बढन सहयोग गर्छ, नसोचिएको सफलता हासिल गर्द मद्दत गर्दछ। मलाई मेरो ध्यान दिएर सुन्न सक्ने शक्ति र आफ्नो वरिपरिको वातावरण हेरि अवलोकन गरन सकेन क्षमता बाट नै मैले धेरै कुरा सिके ।
वाल्यावस्थामा औपचारिक शिक्षाबाट बञ्चित हुनु परेंता पनि घरमा नै मलाई आमाबुबाले व्यावहारिक ज्ञान राम्रोसँग दिनु भयो । काममा इमानदारिता र लगनशिलताको पाठ घरबाटै सिके । जिन्दगीमा जत्ति कठोर अवस्था आए पनि हरेश नखानु बलियो हुनु भन्ने पाठ आफूलाई सङ्घर्षको बेला याद आइरहने हुन्छ । यी व्यवहारिक ज्ञान परीक्षासरह जीवनमा धेरै आए र पाठ पनि याद आयो, पास पनि भए । स्कुल कलेजको पढाइ ज्ञान माध्यम हो जस्तो लाग्छ । त्यो ज्ञानलाई कसरी प्रयोग गर्ने, कहाँबाट लिने हामीमा भर पर्छ । यी ज्ञानहरू घरबाट, स्कुलबाट, छरछिमेका विभिन्न माध्यमबाट लिन सकिन्छ र यी ज्ञानहरूलाई आफ्नो जीवनमा प्रयोग गर्न सकिन्छ ।
उच्च शिक्षा लिने क्रममा साथीले के पढ्यो, ट्रेन्ड के छ भन्नेमा ध्यान नदिई आफूलाई कुन क्षेत्रमा इच्छा छ, कुन रोजगारीमा अवसरहरू धेरै छन्, आफ्नो क्षमता र रुचि पहिचान गर्नुपर्दछ र त्यसैमा आफ्नो लगन र इमान्दारिता दिनुपर्छ । आफूमा इच्छाशक्ति छ भने सपना पूरा गर्न सकिन्छ, नसोचिएको सफलता हासिल गर्न सकिन्छ, आफैँ दङ्ग हुने गरी ।