प्रेरणाको स्रोत: परिश्रमको यात्रा
आर्थिक अवस्था र परिवेश हेरी खेल खेल्न नसकिने बाट इच्छाशक्ति र जोशबाट अन्तर्राष्ट्रिय खेलाडीको रूपमा परिचित व्यक्तिको सङ्घर्षको कथा
“कुनै पनि दवाव, प्रभाव र देखासिकीमा नपरी आफ्नो इच्छा र रुचिलाई बुझी सपना देख्ने हो भने त्यो सपना पूरा गर्न सकिन्छ । कुन आफ्नो इच्छाअनुसार आएको र कुन देखासिकीबाट सपना देखिरहेको हो, त्यो छुट्याउन एकदमै आवश्यक हुन्छ ।”
बुद्धिमान माझी
म सिन्धुलीको हालको बिटजोर गाउँपालिका वडा नम्बर ०९ मा जन्मे । माझी बस्तीको निम्न वर्गीय परिवारमा माछा मार्ने पुरातन पेसाबाट नै घरमा जीविकोपार्जन हुन्थ्यो । यहीको श्री बाल माध्यमिक विद्यालयमा अध्ययन गरे र एसएलसी पनि दिए ।
घरमा मसँग गरी १० जना भाइबहिनीहरू थियौँ । सबै जना पढाइमा अब्बल, प्रत्येक आफ्नो कक्षाको टप पाचौँसम्म हुने । साथीभाइहरूले जिस्काउने पिटेर हेप्ने गर्ने हुनाले विद्यालयबाट हामीले पुरस्कार लिएर आउँदा पनि लुकाएर ल्याउनुपर्ने हुन्थ्यो । बिहीबार रामेछाप डाडामा हाट लाग्ने हुनाले त्यहाँ हामी माछा बेच्न जान्थ्यौँ । त्यही बेला मैले सेतो लुगा लगाएर खेलिरहेको व्यक्तिहरू देखे । त्यस बेला म कक्षा ६ मा अध्ययन गरिरहेको थिए । बाबालाई को हुन र के गरिरहेका भनी सोध्दा बाबाले काम गर्नु हुने साहुको बाबुहरू खेल्ने गरेको र यसलाई कराँते भनिन्छ भन्ने थाहा पाए । एक जनाले धेरै मान्छे पिट्न सक्छ भन्ने थाहा पाएपछि मलाई नि खेल्नु छ भनी बाबालाई भनिहालेँ । बाबाले हामी सक्दैनौँ, धेरै धनीका बच्चाहरूले मात्र खेल्ने र एउटा बेल्टको पनि धेरै महङ्गो पर्ने बताउनुभयो । बाबाले यथार्थको पारिवारिक आर्थिक अवस्था बताइरहनु हुँदा मैले तब अवस्था बुझे तर खेलप्रतिको इच्छा जागिरहेको थियो ।
एसएलसीको अध्ययनपश्चात् केही गर्छु भनी सपना बोकी काठमाडौं आए । घरबाट मलाई पैसा पठाउन नसकिने हुनाले आफैँ काम गरी आफ्नो खर्च धान्नुपर्ने हुन्थ्यो । यस बेला खलासीदेखि ज्यामी कामसमेत गरे । ज्यामी काम गर्ने वेला कामको साथीको छोरा कराँते सिक्ने कुरा थाहा पाए र मलाई पनि रुचि रहेको बताएपश्चात् बौद्धको महान सिदार्थ विद्यालयमा गुरु भेटाइदिनु भएको थियो । त्यहाँ मैले समय मिलाएर कराँते सिक्थे ।
गाउँबाट इन्जिनियर बन्छु भनी काठमाडौँ आएको थिए । विभिन्न कलेजमा प्रवेश परीक्षाहरू दिए । NIST कलेजको ओखलढुङ्गाको शिक्षक राजकुमार खड्का भेटेँ र उहाँले विभिन कलेजहरूको बारेमा जानकारी दिनुभयो । Riviera International Academy मा पनि प्रवेश परीक्षा दिए । धेरै कलेजहरूमा प्रवेश परीक्षा दिएको हुनाले पनि सजिलो भयो, पास भएँ । मेरो आर्थिक अवस्थाको बारेमा बताएपश्चात् कलेजले पढाइमा ध्यान दिनु भनी छात्रवृत्ति दिएको थियो र +२ सम्म निशुल्कमा नै पढेँ । इन्जिनियर बन्छु भनी आएको म यहाँका शिक्षकहरूको परामर्शबाट CEO बन्ने सपना बोकेँ र +२ मा व्यवस्थापन लिएर पढेँ । १२ कक्षा पढिरहँदा पनि मैले कराँते सिकिरहेको थिए । कराँतेमा डिप्लोमा गर्दा समेत घरमा थाहा दिएको थिइनँ ।
१२ कक्षा पढेपश्चात विविएस पढे र यही बेला कोरोना महामारीले मलाई व्यक्तिगत तथा व्यावसायिक रूपमा असर पुर्यायो । विविएस पढिरहेको बेलामा नै आफ्नो खर्च धान्न होटल व्यवसाय गरेको थिएँ । तर कोरोनाको समयमा सबै बन्द गरी गाउँ जानुपर्ने भयो । काठमाडौको होटेलको कोठा भाडा र बस्ने कोठा भाडा आफू नबसे नि तिर्नुपर्ने । कोठा भाडाको लागि हरेक दिन कल र सामान फालिदिन्छु भन्ने धम्कीपश्चात् म काठमाडौँ आए । यता आएपछि पनि काम थिएन । धेरै ठाउँमा बुझ्न गए, खोज्न गए तर काम पाइनँ । आफूलाई एक छाक खाना खान पनि मुस्किल अवस्था थियो । कोरोनाको समयमा धेरै गार्हो भएको थियो र तब पुकार बम दाइसँग भेट भयो । उहाँको सहयोगबाट मुक्तिनाथ विकास बैङ्कमा जागिरे छु । पुकार बम जस्ता विभिन्न मनकारी व्यक्तिहरूको सहयोगबाट मलाई आफ्नो सपनामा अडिक रहिरहन मद्दत मिल्यो ।
अहिले म विविएस को चौथो वर्षमा अध्ययनरत छु, CEO बन्ने सपना पहिलाकै जोश जागर सरह निरन्तर रूपमा देखिरहेको छु । बैङ्कमा जागिर गर्छु र कराँते, तेक्वान्दो खेलिरहेको नै छु । कराँतेको विभिन्न अन्तर्राष्ट्रिय खेलमा नेपाललाई प्रतिनिधित्व गरी खेलिरहेको छु । श्रीलङ्काबाट गोल्ड मेडल, बङ्गलादेशबाट सेकेन्ड मेडल र दुबईको कल्क्लेवमा भएको अन्तर्राष्ट्रिय कराँते ६० कि.ग्रामको समूहबाट डब्बल गोल्ड मेडल ल्याउन सफल भए । अन्तर्राष्ट्रिय खेलमा नेपाललाई प्रतिनिधित्व गर्न पाउँदा आफैँसँग गर्व लाग्छ र आफ्नो पूरा शक्ति लगाएर खेल्ने गर्दछु ।
आर्थिक अवस्था र परिवेशबाट खेल्ने क्षमता नभएकोबाट इच्छाशक्तीले अन्तर्राष्ट्रिय खेलमा नेपाललाई प्रतिनिधि गर्ने खेलाडीको रूपमा पहिचान हुँदा खुसी लाग्छ । पहिलाको सङ्घर्ष सम्झन्छु र ती सङ्घर्षबाट नै मिहिनेन गर्ने र आफूलाई नियममा राख्न सिकेको हुँ । आफूभित्र केही गर्छु भन्ने इच्छा जागेपश्चात् कसैले रोक्न सक्दैन ।
आफूलाई पारिवारिक, आर्थिक सामाजिक कुनै पनि बन्धनमा नबाँधी सपना देख्नुपर्दछ । कुनै पनि दबाब, प्रभाव र देखासिकीमा नपरी आफ्नो इच्छा र रुचिलाई बुझी सपना देख्ने हो भने त्यो सपना पूरा गर्न सकिन्छ । सपना पूरा गर्छु भन्ने इच्छाशक्ति अगाडिबाट नै हुनुपर्छ । धेरै सपना देखे आफूलाई नियन्त्रणमा राख्न गार्हो हुन्छ । कुन आफ्नो इच्छाअनुसार आएको र कुन देखासिकीबाट सपना देखिरहेको हो, त्यो छुट्याउन एकदमै आवस्यक हुन्छ ।
आफ्नो सपना र जिम्मेवारी दुबैलाई पूरा गर्न सक्नुपर्दछ । घरको जिम्मेवारी पूरा गरिरहने क्रममा आफ्नो व्यक्तिगत सपनालाई त्याग गरेपछि पश्चाताप हुन सक्छ । आफ्नो सपनामा मात्र ध्यान दिई जिम्मेवारीबाट भाग्न खोज्नु पनि ठिक होइन । मैले आफ्नो पढाइलाई निरन्तरता दिँदै कराँते खेल्दै छु । कामलाई पनि निरन्तरता दिँदै छु । आफूले आफ्नो समय तालिकामा योजना बनाएर आफूलाई नियममा बाँधेर अगाडि बढे सपना र जिम्मेवारी दुबै पूरा गर्न सकिन्छ । आफूलाई रुचि र इच्छा भएको क्षेत्रमा इच्छाशक्तिका साथ आफूलाई नियममा राखी अगाडि बढ्न सके, सपना पूरा हुन्छ । सपना पूरा गर्ने गरी नै सपना देख्नुपर्दछ ।