प्रेरणाको स्रोत: परिश्रमको यात्रा
“बालबालिकाको हितको लागि अभिभावकले सुन्ने र सुनाउने कार्य दुबै परस्पर रूपमा गर्नुपर्छ । अभिभावकहरूले आफ्नो नानीबाबुहरूलाई सम्पत्तिको रूपमा भन्दा पनि एउटा व्यक्तिको रूपमा हेर्नुपर्दछ । व्यक्ति जसको आफ्नो छुट्टै पहिचान, अस्तित्व, इच्छा, आकाङ्क्षा र सपनाहरू हुन्छ । ”
काउन्सेलर(परामर्शदाता)प्रतिमा लामा
म सुन्दरीजल गोकर्णेश्वर नगरपालिकामा जन्मेँ र यही हुर्केँ । बाजुरा माध्यमिक विद्यालयबाट मैले एसएलसी दिए । मदनभण्डारी मेमोरियल कलेजबाट मनोविज्ञानसम्बन्धी विषय लिएर स्नातक गरेँ र पद्मकन्या मल्टिपल क्यामपसमा स्नातकोत्तर गरिरहेको छु ।
सानै उमेरदेखि बालबालिकाको जीवनमा आमाबुबाको प्रभावकारी भूमिका रहन्छ । अध्ययन र अध्यापन गराइरहने सिलसिलामा दिमागमा बालबालिकाको लागि यदि केही गर्ने हो भने अभिभावकमा काम गर्नुपर्दछ भन्ने जहिले पनि लागि रहन्थ्यो । यसै सिलसिलामा अभिभावक तालिम लिने र सोही तालिम दिने मौका मिल्यो । जहाँ अभिभावकको बालबालिकालाई हेर्ने दृष्टिकोण परिवर्तन भएको सम्बन्धमा सुधार आएको देखेर बालबालिकाको मनोविज्ञान र अभिभावकको भूमिकाको बारेमा थप जान्न उत्सुकता रह्यो ।
अझ बढी नानीबाबुको जीवनमा यस्तै वातावरण निर्माण गर्नुपर्छ भन्ने हुटहुटी मेरो र मेरो साथीको दिमाग र मनमा छाउन थाल्यो । जुन हुटहुटीले हामीलाई स्मार्ट प्यारेन्टिङ नेपालसम्म ल्यायो र अहिले म आफ्नो रुचि र इच्छाअनुसार यसै सस्थाअन्तर्गत रहेर काम गरिरहेको छु । अभिभावकत्वको विषयमा बोलिरहँदा, तालिम दिइरहँदा मनोविज्ञानमा स्नातकोत्तर गर्ने क्रम पनि जारी थियो, जहाँ बालमनोविज्ञान भनेर छुट्टै पाठ्यक्रम नभएता पनि डेभलोपमेन्टल साइक्लोजी थियो, जसले बालबालिकाको उमेरअनुसार मनोविज्ञान थाहा पाउन धेरै मद्दत गर्यो ।
कक्षा १० को परीक्षा दिई बसेका विद्यार्थीहरू किशोरावस्था पुगेका बालबालिकाहरू हुन । उनीहरूमा शारीरिक, मानसिक, भावनात्मक विकास भइरहेको हुन्छ । यी विकासहरूको बिच व्यवहारमा पनि परिवर्तन आउँदछ । यी उमेरमा आफ्नो अभिभावकहरूसँग मात्र नभई आफैँभित्र पनि अनेकौ द्वन्द्वहरू चलिरहेका हुन्छन् । अभिभावकहरूले मात्र विकास/परिवर्तन देखेर अचम्म नभई बालबालिकाहरू आफैँ पनि आफ्नो परिवर्तन देखेर अचम्म हुन्छन् ।
यी उमेर समूहका बालबालिकाहरूमा व्यक्तिगत रूपमा शारीरिक र मानसिक परिवर्तन हुनुका साथै सामाजिक रूपमा पनि आफ्नो पहिचान र अस्तित्व खोज्न प्रयास गरिरहेको हुन्छ । परिवार र समाजमा कसैले ठुलो भइसक्यो र कसैले भर्खर कक्षा १० सक्यो, सानो नै छौ भनिरहँदा आफू को हो र के गर्न सक्छु जस्ता विभिन्न प्रश्नहरूमा दुविधामा परिरहेको हुन्छ ।
अभिभावकहरूले अफ्नो बालबालिकाप्रतिको स्नेह, माया, ममताको नाममा आफ्नो अनुभवको आधारमा विभिन्न सल्लाह, सुझाव अझ भनौँ कतिपय अभिभावकहरूले आदेश दिनुहुन्छ, जुन नकारात्मक सोचाइका साथ कदापी होइन । तर बालबालिकालाई सधैँ सुनाउने मात्र होइन, उनीहरूलाई सुन्नुपनि पर्छ । सुन्ने र सुनाउने क्रम परस्पर हुनुपर्छ । बालबालिकाले आफ्नो सोचाइ, भावना भनिरहँदा त्यसलाई सम्मान गर्नुपर्दछ र गैर आलोचक (non-judgemental) हुनुपर्दछ ।
बालबालिकाहरूलाई सानै उमेरदेखि स्नेह मायामा हुर्काउनुका साथै उनीहरूको रुचि, आवाज र इच्छालाई सम्मान गर्नुपर्दछ । बालबालिकामाझ सानै उमेरको हुँदादेखि राम्रो अभिभावकीय शैलीमा प्रस्तुत हुन सकेपछि बालबालिका आफैँले आफ्नो लक्ष्य सपना देख्न सक्छ र अभिभावकलाई सम्मान गर्न सक्दछ ।
अभिभावकले गर्ने माया, स्नेह कहिले गलत हुँदैन तर एकोहोरो आफ्नो कुरा मात्र सुनाउने र आफ्नो शैली जबर्जस्ती बालबालिका माथि लगाउने कार्य गलत हो । बालबालिकालाई एकैचोटि किशोरावस्थामा आइसकेपछि मात्र अभिभावकको महत्त्व दर्शाउन खोज्नु, आफूले भने जस्तो व्यवहारमा परिवर्तन ल्याउन खोज्नु नै गलत भइरहेको छ । बालबालबालिकाहरूलाई सानै उमेरदेखि अभिभावकको छत्रछायामा राख्नुपर्दछ । उनीहरूको रुचि, सानो सानो निर्णय र लागु हुन सक्ने इच्छाहरूको सम्मान गर्नुपर्दछ । जसले सानै उमेरदेखि अभिभावक र बालबालिकाहरूको सम्बन्ध सुमधुर बनाउन मद्दत गर्द्छ ।
जसरी हामीलाई हाम्रो तुलना अर्को व्यक्तिसँग गरिरहँदा रिस उठ्छ, त्यसैगरि बालबालिकाहरूलाई पनि हुन्छ । त्यसैले बालबालिकाभित्र भएको आत्मसम्मान, आत्मविश्वास अनि अभिभावकले माया गर्नुहुन्छ भन्ने सोचाइबाट आफ्नो नानीबाबुहरूलाई बञ्चित नगराऔँ । अभिभावकहरूले आफ्नो नानीबाबुहरूलाई सम्पत्तिको रूपमा भन्दा पनि एउटा व्यक्तिको रूपमा हेर्नुपर्दछ । व्यक्ति जसको आफ्नो छुट्टै पहिचान, अस्तित्व, इच्छा, आकाङ्क्षा र सपनाहरू हुन्छन् । आमाबाबुहरूले बालबालिकालाई आफ्नो गुण र क्षमतासँग पनि तुलना गर्नु हुँदैन । नानीबाबुहरूको इच्छा र क्षमता बाबु वा आमा जस्तै हुन्छ वा हुनुपर्छ भन्ने सोच्नु हुँदैन ।