प्रेरणाको स्रोत: परिश्रमको यात्रा
“कोभिड-१९ र यसको प्रभाव किशोरकिशोरीलाई पनि परेको छ । यो कुरालाई आँकलन गरी बालबालिकालाई उचित परामर्श दिई उनीहरूको कुरा सुन्नु एउटा महत्वपूर्ण अभिभावकीय जिम्मेवारी रहन्छ ।”
आरति चित्रकार
हाम्रो पालाको जस्तो अवस्था रहेन अहिले । यो पुस्ता फरक छ । कोभिड-१९ को महामारी र शिक्षामा यसले पारेको असरले गर्दाखेरि अहिले किशोरकिशोरिहरूको अवस्था फरक छ । डिजिटललाइजेसनले गर्दा बच्चाहरू एकदमै स्क्रिनमै बस्न रूचाउने बानी लागेको छ । बाहिर जाउ भन्नुपर्ने अवस्था छ । यो सायद सारा संसारका अभिभावकका लागि नयाँ युग हो, जसले नयाँ जिम्मेवारीहरू थप गरिदिएको छ ।
कक्षा १० पछि नानिलाई अलि व्यस्त राख्ने हिसाबले हामीले कम्पुटर कक्षा, ईम्ब्रोडरीको कक्षामा भर्ना गर्देका छौँ । उसलाई अहिले के गर्ने हो भन्ने कुरा पत्तो छैन । उसँग संवाद गर्दाखेरि प्रचुर सिर्जनाशील शक्ति र योग्यता पाउँछु । तर अझै उसलाई के गर्ने भन्ने पत्तो छैन । कक्षा १० भर्खर सकेको व्यक्तिले सबै कुरा ठम्याउन सक्छन् भन्ने छैन । त्यसैले पनि पढाइ अतिरिक्त कक्षाहरूले उनीहरूलाई आफूलाई बुझ्नका लागि अझै बढी ठाउँ दिन्छ । मोबाइलमा बढी झुन्डिने, एकोहोरो हुने, हेलचक्राई गर्ने, खुलेर कुरा नगर्ने, रिसाउने, जस्ता व्यवहारहरू किशोरावस्थामा देखिन्छन् । हामीले यस अवस्थालाई सहज पार्नका लागि आफ्नो नानीसँग साथी जस्तो व्यवहार गर्ने गरेका छौँ । यसले गर्दाखेरि उसले हामीलाई खुलेर कुरा गर्ने गर्दछिन् ।
म आफैँ एक काउनसेलर भएका हिसाबले पनि यस्ता कुराहरूलाई बढी ध्यान दिने गर्दछु । विशेषगरि स्क्रिनमा बिताउने समय र बाहिर घुलमिल हुने समयलाई व्यवस्थापन गरेको छु । नानीको कुरा म सदैव सुन्ने गर्दछु । यसले गर्दा नानीले मलाई धेरै कुराहरू भनिरहेको हुन्छे । उसले कुनै निर्णय गर्दा हामीलाई रेफर गर्ने गर्दछ । हामीसँगै बसेर कयौँ निर्णयहरू लिने गर्दछौ । अभिभावकको रूपमा आफ्ना बच्चाहरूलाई आफैँसँग कुरा गरेर निर्णय गर्ने प्रक्रिया अपनाउँदै एकदमै खुसी लाग्दो रहेछ र यसले नानीबाबुहरूमा एउटा निर्णयप्रति पनि अपनत्व पैदा गर्दो रहेछ ।
कक्षा दशपछि के गर्ने भनेर मेरो नानीले अझै ठम्याउन नसके तापनि उसले आफ्नो चाहाने विषय राम्ररी ट्रेस गरिरहेको छ भन्ने कुरा मननयोग्य छ । हामीलाई यो देखेर खुसी लाग्छ ।