प्रेरणाको स्रोत: परिश्रमको यात्रा
“नानीबाबुहरूले सामाजिक दबाबरहित आफ्नै इच्छाबाट गरेको काम गर्ने वातावरण बनाए सफलता अवश्य पाउँछन्। हामी अभिभावकहरूले पनि एकआपसमा प्यारेन्टिङ्गसम्बन्धी कुराहरू गर्दै जानुपर्छ भन्ने लागेको छ।”
अनिता काफ्ले
मेरो जेठो छोराले कक्षा १० पछि विज्ञान पढ्छु भन्थ्यो । म स्वयम्ले तिमी विज्ञान पढ्न सक्दैनौँ कमर्स पढ भनेर भनेँ । अहिले आँकलन गर्दा एकदमै गल्ती गरे जस्तो हुन्छ । अहिले छोरा विदेशमा छ । हामी अलि कम बोल्छौ । संवाद गर्दा ऊ त्यति नखुलेको जस्तो महसुस हुन्छ । मेरो यही अनुभवले मैले कान्छो छोरालाई भने स्वस्फूर्त निर्णय गर्न सक्ने वातावरण निर्माण गर्दिएँ ।कान्छो छोरो कलेज सँगसँगै डिजिटल मार्केटिङ्ग गर्छ । कहिलेकाहीँ जिस्किएर म त २४ वर्षमा रिटाएर हुने गरी काम गर्छु भन्छ ।
किशोर अवस्थाको हुँदाखेरि झर्किने झगडा गर्ने लगायतका कुराहरू भइरहन्थ्यो । दाजुभाई एकदमै झगडा पनि गर्थे । फेरि पढ्ने चाह भने उत्तिकै थियो । यस्तो बेलामा हामीले नानीबाबुहरुको कुन गुणलाई बढी प्रोत्साहन दिने र कुनलाई कम भन्ने कुरा ख्याल गर्नुपर्दो रहेछ।
नानिबाबुहरुले भनेका कुराहरु इच्छाहरु हामीले सुन्थ्यौँ। आफ्नो ईच्छाले गरेको काम राम्रो हुन्छ भन्ने हामी अभिभावकलाई महसुस हुन्थ्यो । सामाजिक दबाबमा आएर कुनै पनि निर्णय लिँदा त्यसको जिम्मेवारी बोध कम हुन्थ्यो । बालबच्चाहरू किशोरअवस्थामा आएपश्चात् उनीहरूसँग साथी जस्तो व्यवहार गर्न थाल्यौँ । आफ्नो कुराहरू भन्ने र उनीहरूको सुन्ने गर्यौँ । धेरै कडाईका साथ प्रस्तुत भएनौँ । एउटा राम्रो सम्बन्ध विकास गर्ने प्रयत्न गर्यौ, जसको फलस्वरूप हामी बाबुआमा र बाबुहरुबिच राम्रो सम्बन्ध स्थापित भयो ।
अभिभावकको भूमिका एकदमै उल्लास र मिठासका साथ बिताएँ । यसको आफ्नो जिम्मेवारी पनि हुन्छ । हामी अभिभावकहरूले पनि एकआपसमा प्यारेन्टिङ्गसम्बन्धी कुराहरू गर्दै जानुपर्छ भन्ने लागेको छ।