प्रेरणाको स्रोत: परिश्रमको यात्रा
“आमाबुबाको अभिभावकीय शैलीअनुसार नानिबाबुहरूको स्वभाव र बानीव्यहोराहरू निर्माण हुने रहेछ । नानीबाबुहरूलाई निर्णय गर्न दिनुहोस् तर आमाबाबुले निर्णय गर्नुको आधारहरू थाहा पाउनुहोस्, कसरी निर्णय गर्यो सोच्नुहोस र सल्लाह दिनुहोस् । ”
रोजिना डङ्गोल तान्दुल्कार
म रोजिना डङ्गोल तन्डुकर, बुद्धनगरमा बसोबास गर्दै आइरहेको छु । म २ जना नानीबाबुको आमा र रोयल किन्डर क्यासल प्रिस्कुलको सस्थापक र प्राध्यापक हुँ । मेरो बाबु २९ वर्षको हो र अहिले अस्ट्रेलियामा बसोबास गरिरहेको छ । नानी २१ वर्षको हो र अहिले नेपालमा बिबिए अध्ययन गरिरहेको छ ।
मायाप्रेम भई मैले भागी विवाह गरेको थिएँ । १८ वर्षको उमेरमा योजना नभई छोरा जन्मेको हुनाले अभिभावकको भूमिकाको बारेमा राम्रोसँग जानकारी थिएन । छोरा बढे संगै मैले अभिभावकको भूमिकाको बारेमा बुझ्न पाएको हुँ ।
म र मेरो श्रीमान दुवै रोजगारी खोजिरहेको, भागेको हुनाले परिवार समाजबाट पनि तिरस्कार भएको अवस्थामा छोरा जन्मिएको थियो । आर्थिक, सामाजिक पारिवारिक समस्या भोगिरहेको अवस्थामा रिसहरू जानीनजानी मैले छोरामाथि पोखिरहेको हुन्थेँ । उसलाई एकदमै कडा/सख्त वातावरणमा हुर्काएँ । छोराको स्वभाव भनेको सबै मान्ने, सोधेको प्रश्नको उत्तर दिने तर आफूले कहिले प्रश्न नगर्ने, अरुसँग बोल्न अफ्ठ्यारो मान्ने भयो । आमाबुबाको अभिभावकीय शैलीअनुसार नानीबाबुहरूको स्वभाव र बानीव्यहोराहरू निर्माण हुने रहेछ ।
छोरा ७ वर्षको भएपश्चात् छोरी जन्मिएको हो । छोरी जन्मिँदा मैले स्कुलमा पढाउने र घरको आर्थिक, सामजिक, पारिवारिक अवस्था राम्रो भइसकेको थियो । छोराको रेखदेख गरिरहँदा र अनुभवी भइसकेपश्चात् छोरीलाई अभिभावकीय भूमिकामा सहज वातावरण बन्यो, तबसम्म मलाई थोरै अभिभावकको भूमिकाबारे जानकारी पनि भइसकेको थियो । छोरीको स्वभाव एकदमै बोल्न मन पराउने, पढाइमा अब्बल र मिजासिलो स्वभावको छ । मलाई साथी जस्तो व्यवहार गरी घुम्न जाउँ पनि भन्छिन् । छोरीले म आफू रिसाउने क्रममा मलाई राम्रोसँग नियन्त्रणमा राख्ने भइसकेको छ ।
छोरी पाएपश्चात् र छोरीको स्वभावलाई छोरासँग तुलना गरिसकेपश्चात् मैले मेरो छोरालाई राम्रो हेरचाह र राम्रो अभिभावकीय भूमिका खेल्न सकिनँ भनेर ज्ञान भयो । मैले मेरो रीस, निराशापन छोरालाई देखाएँ र छोराको व्यवहार र स्वभाव हेर्दा मेरो कारणले गर्दा भएको हो भनेर सोच्छु । मैले छोरालाई देखाएको रिस र निराशापन सम्झिदा पनि पश्चाताप महसुस हुन्छ ।
एसएलसी पछि नानीबाबुहरूको हामीसँगभन्दा पनि साथीहरूसँग कुरा मिली उनीहरू सँग नै बढि मिल्ने हुन्छन् । अभिभावकहरूसँग बोल्न रुचि नगर्ने र हाम्रो कुरा नसुन्ने हुन्छ । जुन प्राय धेरै किशोरावस्था उमेर समूहको अभिभावकहरूले महसुस गर्छन् । यो समयमा नै अभिभावकले साथीको भूमिका पनि बुझिदिनु पर्दछ र साथी जस्तो व्यवहार गर्नुपर्दछ । यो उमेर समूहका नानीबाबुहरू बुझ्ने भइसकेका हुन्छन् । आफ्नो कामको घरको दुख, सुखको घटना सुनाउन थाल्नुहोस् । अनिमात्र नानीबाबुहरूले उनीहरूको दुख, सुख र निराशापनको कुरा सुनाउन थाल्छ । हामीले पनि सुनाउने र सुन्ने दुबै काम गर्नुपर्दछ ।
एसएलसी पछि छोरालाई व्यवस्थापन यो कलेजमा पढ भनेर मैले नै निर्णय गरे र उसले रुचि भए नभए पनि पढ्यो । कलेजमा पास भयो र पछि बाहिर जान्छु भनी अस्ट्रेलिया गयो । छोरीको पढाइ राम्रो भएकाले मैले विज्ञान लिनको लागि सल्लाह गरेको थिएँ । उसलाई विज्ञानमा रुचि नभएको भनेकाले मैले जिद्दी गरिनँ, उसैलाई निर्णय गर्न दिएँ र व्यवस्थापन उच्च अङ्कले उत्तीर्ण पनि भई । विषयमा रुचि उसले छनोट गरी र कलेज पढ्ने कुरामा मैले विकल्प दिए र उसले निर्णय गर्यो । मैले आफ्नै छोराछोरीलाई गरेको यो अभिभावकीय भूमिकाबाट नानीबाबुको इच्छा र रुचिमा उनीहरूलाई निर्णय गर्न दिएँ, राम्रो प्रस्तुति गर्छ भन्ने थाहा पाएँ ।
हामी अभिभावकहरू बालबालिकाको लागि बाच्छौँ । उनीहरूको लागि दुख गर्छौ र उनीहरूको प्रगति होस भनी कामना गर्दछौं । नानीबाबुको करियरको बारेमा सोच्नु र चिन्ता लिनु सामान्य हो र आमाबाबुको माया हो तर हामीले हाम्रो बालबालिकाको क्षमता बुझ्नुपर्दछ । उनीहरूको इच्छा आकाङ्क्षा र लक्ष्यमा निर्णय वा अवरोध गर्नु भनेको आफ्नै नानीबाबुको क्षमतामा प्रश्न गर्नु हो । नानीबाबुहरूलाई निर्णय गर्न दिनुहोस् तर आमाबाबुले निर्णय गर्नुको आधारहरू थाहा पाउनुहोस्, कसरी निर्णय गर्यो सोच्नुहोस् र सल्लाह दिनुहोस् । आमाबाबुले बालबालिकालाई समय दिनुहोस् र आफ्नो दुख सुखको कुरा बताउनुपर्छ ।