प्रेरणाको स्रोत: परिश्रमको यात्रा

“बालबालिकाको कुरा सुन्ने र आफ्नो पनि राय दिने गरेर अभिभावक र बालबालिका दुवै जना मिली निर्णय गर्दा आपसी सम्बन्ध सुमधुर राख्न सक्दछन्।”

पूजा गौतम

मेरा दुई छोराहरू छन् । एकजना आइटी पढ्दै छ र अर्को १२ कक्षाको जाँच दिएर बसिराखेको छ। दुवै जना बुझ्ने, ज्ञानी र मिलनसार स्वभावका छन् । किशोरअवस्थामा हुदाँखेरि एकदमै रिसाउने, साथिभाइसँग मात्र नजिकिने र हर्मोनल परिवर्तनले होला अलि बढि झोकिने गर्दथे । अहिले परिवारलाई बढी समय दिन्छन्, कम रिसाउँछन्, हामीले नबुझेको कुराहरू हामीलाई नै सम्झाई बुझाई दिने गर्दछन् ।

१० कक्षापछि के पढ्ने भन्ने अन्योलता मेरो छोराहरूको सन्दर्भमा अलि कम थियो । उनीहरू दुवैजनाको रूचि विज्ञानमै भएकाले विज्ञान नै पढे । तर हामीले सल्लाह भने अवश्य गरेका थियौँ। हामीले उनीहरूले भनेको कुरा सुन्यौ र आफूले जाने बुझेसम्मको सल्लाह प्रदान गयौँ । विज्ञान पढेपछि १२ पछि अरू कुनै विषय पढ्न मन भए पढ्ने अवसरहरू बन्देज नहुने भन्ने थाहा थियो हामीलाई। हाम्रो निर्णय आधार नै त्यही थियो । हाम्रो कुरा मिले तापनि छोराहरूले विज्ञान पढ्छु भन्नु पछाडिको कारण जान्न प्रयत्न गर्यौ । उनीहरूले स्पष्ट रूपमा हामीलाई विज्ञानमा रूचि भएको र आइटी पढ्ने भन्ने कुरा गर्दथे । उनीहरूको स्पष्टता देखेर खुसी लाग्थ्यो ।यसरी दुवै पक्षको कुरा सुनेर हामीले निर्णय गरेका थियौँ ।

कोभिडमा एसएलसी दिएको कारणले होला कलेजले आन्तरिक मूल्याङ्कनमा कम नम्बर दिएकाले गर्दा सानु बाबु अलि बढी निराश भएको थियो । तर उसलाई उसको नम्बरभन्दा पनि रूचिका आधारमा हामीले सल्लाह दियौँ । पछि विज्ञान पढेपछि आफैँ ट्रायकमा आयो ।

काम गर्दै नानीबाबु स्याहार गर्दा समय मिलाउनलाई कष्टकर पर्दथ्यो नत्र चै खासै केही कष्टकर अवस्था सिर्जना भएन। अभिभावक भएर आफ्नो जिम्मेवारी निर्वाह गर्नु एउटा रमाइलो र खुसीको पल हो।

वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।