प्रेरणाको स्रोत: परिश्रमको यात्रा

इन्जिनियर बन्छु भनी सपना बोकी प्राविधिक धारबाट मिहिनेत र लगनशीलताबाट सपना पूरा गर्न सफल कथा

“आर्थिक पारिवारिक परिवेशले सपना देख्न रोक्दैन, सपना पूरा गर्न सकिन्छ । सपना देख्नुहोस् तर त्यो सपनालाई पूरा गर्न निरन्तर रूपमा मिहिनेत गर्नुपर्दछ ।”

प्रल्हाद प्याकुरेल

मेरो वि.स.२०४६ सालमा नुवाकोट जिल्ला साविकको गेर्खु गा.वि.स हालको बिदुर नगरपालिका वडा नम्बर ११ बितलबमा जन्म भएको हो । गाउँमा मध्यम वर्गीय परिवारको परिवेश र सेरोफेरोमा मेरो बाल्यकाल बित्यो । गाउँको प्राथमिक अध्ययन गाउँको कालिका प्राविबाट गरे र माध्यमिक शिक्षाको लागि घरबाट दुई घण्टा हिँडेर चण्डेश्वरी माध्यमिक विद्यालयमा जानुपर्थ्यो र त्यहीँबाट मैले वि.स. २०६२ मा एस.एल.सी पास गरे ।

म सानो छँदादेखि नै इन्जिनियरिङमा रुचि लागेको थियो । मलाई स्मरण छ म कक्षा ५ मा पढ्थेँ । गाउँमा जलाधार कार्यक्रम मा एक जना इन्जिनियर आउनु भएको थियो, उहाँले हामी बच्चाहरूलाई माया गर्नुहुन्थ्यो र उहाले एकदिन मलाई मेरो नाम अङ्ग्रेजीमा लेख्न भन्नुभयो भयो मैले "Pralad" लेखे मलाई त्यहीँ पढाइएको थियो तर उहाले यसो होइन "Pralhad" हुन्छ भनी सच्याइदिनु भयो । उहाँ गाडीमा आउनुभएको र राम्रो पारिश्रमिक, अङ्ग्रेजी पनि राम्रोसँग आउने देखेर म उहाँको व्यक्तित्वबाट प्रभावित भइसकेको थिएँ । उहाँलाई देखेर उहासँग बोलेर म आफू पनि इन्जिनियर बन्ने सपना देखेँ ।

मेरो इन्जिनियर बन्ने सपनालाई साकार गर्न एसएलसीपछि म काठमाडौँ आए । यहाँ दाइहरू बस्नुहुन्थ्यो । आर्थिक अवस्था कमजोर भएकाले प्राइभेट कलेजमा पढ्न नसकिने भएकाले सरकारी कलेजमा नै पढ्ने निर्णय गरेँ । नेपाल सरकारको स्वामित्वमा रहेको तथा सिटिइभिटीको आफ्नै आङ्गिक संस्था बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीमा गएर फारम भरे । त्यसपछि गाउँमा रोपाइको सिजन सुरु भएको हुँदा गाउँ फर्केँ ।

साथीहरूले प्रवेश परीक्षाको बारेमा जानकारी दिएपश्चात् म काठमाडौँ फर्केँ । मसँगै फाराम भरेको साथीहरूले प्रवेश परीक्षाको लागि तयारी गरी बसेका जानकारी पाएँ र मैले केही नगरेकाले सक्दिन कि भन्ने महसुस भएको थियो तर आफूलाई मन पर्ने विषय र सपना भएकाले प्रवेश परीक्षा दिएँ र गाउँ फर्केँ ।

प्रवेश परीक्षामा पहिलो लिस्टको १३ नम्बरमा मेरो नाम निस्केको थियो, म आफैँ दङ्गै । गाउँमा रिजल्टको बारेमा जानकारी पाउन नसकेर म यहाँ बुझ्न मात्र आएको थिएँ । यहाँ आएपश्चात् उच्च नम्बर आइ नाम निस्केको थाहा पाएँ र एकदम खुसी थिएँ तर पहिलो लिस्टको भर्ना सकिएर दोस्रो लिस्टको भर्नाको अन्तिम दिनमा क्याम्पस पुगेको रहेछु । भर्ना गर्नका लागि सोही दिन २५ हजार रुपियाँ तिर्नुपर्ने जानकारी भयो । गाउँबाट कुनै योजना नभई आएको मलाई तब त्यहाँ सङ्कट आइपर्यो । त्यसपश्चात् म जसरी पनि भर्ना गर्छु भन्ने अठोट बोकी काठमाडौँमा रहनु भएका आफन्तहरूलाई सम्पर्क गरेँ तर कसैले पनि त्यही समयमा तत्काल २५ हजार जुटाउन नसकिने बताउनुभयो ।

म निराश हुँदै कलेजको गेटमा पुगेको थिएँ । एकजना अङ्कलले के भयो बाबु भनेर सोध्नुभयो । मैले सङ्कोच नमानी उहाँलाई सबै कुरा बताए । मेरो समस्या राम्रोसँग सुन्नुभएपश्चात् उहाँले मलाई २५ हजार दिनु हुने र ३ दिनभित्र गाउँमा कुरा गरी फिर्ता गर्नु भनी मलाई विश्वास गरिदिनुभयो । उहाँले आफ्नो छोरालाई मसँग पहिचान गराउँदै छोरा पनि यही पढ्ने बताउनुभयो र पैसा आएपछि छोरालाई नै दिनु भन्नुभयो । उहाँको सहयोग पाउँदा मेरो अगाडि भगवान नै प्रकट हुनुभएको सरह महसुस भयो । उहाँको कारणले मेरो जीवनको मोड परिवर्तन भयो । पछि बुज्दै जादा उहाँ नेपाल विधुत् प्राधिकरणको अधिकृत हुनुभएको थाहा पाएँ । एक अपरिचित व्यक्ति मलाई विश्वास गरी सहयोग गर्नुभएको उहाँलाई म सधैँ सम्झिरहन्छु र आफूले सक्दो कसैलाई सानो सहयोग गरे पनि कसैको जिन्दगीको मोड परिवर्तन हुन सक्छ भन्ने सिकेको छु ।

डिप्लोमा तेस्रो वर्ष पढिसकेपश्चात् एक जना सिनियर इन्जिनियर दाइको सल्लाहमा डिलाइट इलेक्ट्रिकल इन्जिनियरिङ प्रा.लिमा सबइन्जिनियरको रूपमा काम सुरु गरेँ र अहिले म यही कम्पनीको डाइरेक्टर भएको छु । यो कम्पनीको वार्षिक कारोबार रकम १५ करोड माथि रहँदै आएको छ । हाल म यो कम्पनी अतिरिक्त कन्स्ट्रकसन, होटललगायत ६ ओटा अन्य कम्पनीमा बोर्ड अफ डाइरेक्टरको रूपमा रहेको छु । मैले इन्जिनियरिङमा स्नातक र व्यवस्थापनमा स्नातकोत्तर (एम.बि.ए ) गरेँ । हालसालै कानुनमा एलएलबीको अन्तिम वर्षको परीक्षा सकेको छु, मलाई मेरो चाहनाअनुसार हरेक सफलता मिल्नुको कारण मेरो परिवार र प्राविधिक शिक्षा नै अध्ययन गरेकी मेरो श्रीमतीको पूर्ण साथ र सहयोगले पनि हो ।

अहिलेको प्राविधिक शिक्षा एकदमै पहुँचयोग्य र सुलभ भएको छ । प्राविधिक शिक्षा पढेपश्चात् आफ्नो खर्च आफैँ धान्न सकिन्छ, आफू आर्थिक रूपमा अब्बल हुन सक्छौँ । नेपालमा रोजगारको मार्केट हेर्ने हो भने प्राविधिक शिक्षा हासिल गरेको व्यक्तिहरू प्रस्फुटाएका छन् र रोजगारी पनि पाइहाल्न सकिन्छ । गाउँतिर प्राविधिक शिक्षा महङ्गो हुने भ्रम छ, यो गलत हो । अहिले प्राविधिक शिक्षामा सरकारले विभिन्न सुविधा र छात्रवृत्तिहरूको प्रबन्ध पनि गरेको छ ।

मैले सानैबाट आफ्नो परिवारको आर्थिक र पारिवारिक अवस्था बारेमा अवगत रहिरहेको थिएँ । १० कक्षा पढ्ने क्रममा साना कक्षाको विद्यार्थीलाई ट्युसन पढाउने गर्थेँ । प्राइभेट कलेजमा पढ्न नसकी सरकारीमा पढेँ । सपना निरन्तर रूपमा देखेँ र मिहिनेत र लगनशीलता त्यही रूपमा दिए । आर्थिक पारिवारिक परिवेशले सपना देख्न रोक्दैन, सपना पूरा गर्न सकिन्छ । सपना देख्नुहोस् तर त्यो सपनालाई पूरा गर्न निरन्तर रूपमा मिहिनेत गर्नुपर्दछ । जुन आज म प्राविधिक शिक्षाकै कारण आफ्ना रहर र चाहनाहरू पूरा गर्न सफल भएको छु मैले आफ्नै घर, गाडी र विभिन्न व्यवसायमा करोडौँको लगानी गर्न सकेको छु, त्यसैले तपाईहरू पनि प्राविधिक शिक्षा अध्ययन गर्नुहोस् र मिहनेतका साथ काम गर्नुहोस् तपाईहरूको पनि त्यो सबै चाहनाहरू प्राविधिक शिक्षा र मिहिनतले अवस्य पूरा गर्ने छ । मैले जुन सफलता ३५ वर्षको उमेरमा पाएको छु, त्यो सफलता अहिलेका भाइबहिनीहरूले अझ कम उमेरमै पाउन सक्नु हुन्छ । मलाई २५ हजार दिई भर्ना गर्न सहयोग गर्नुभएको दिनबाट मेरो जीवनको मोड परिवर्तन भयो र यसमा अहिले विश्लेषण गर्दा मैले तब आफ्नो समस्या निर्धक्क रूपमा भन्न सकेँ, सहयोग माग्न सके भन्ने महसुस हुन्छ । जब आवश्यकता पर्छ, तब सहयोग माग्न पनि सिक्नुपर्दछ । काममा जिम्मेवार र लगनशील हुन सके आफूले देखेको सपना पूरा हुन्छ नै, त्यसैले सपना देख्न थाल्नुहोस अवस्य पूरा हुन्छ ।

वृत्ति, रोजगारी, सीप तथा जीवनपर्यन्त सिकाइलाई श्रम बजारको आवश्यकता, वैयक्तिक रुचि, खुबी र क्षमता अनुसार दिगो, मर्यादित र व्यवस्थित रुपमा मार्ग निर्देशित गर्न विद्यार्थीलाई सूचना, परामर्श, एवम् वृत्ति मार्गनिर्देशन सेवा प्रदान गर्ने उद्देश्यले वृत्ति मार्गनिर्देशन कार्यक्रम लागु गरिएको हो।