व्यक्तिगत क्षमतामा वैयक्तिक (Intrapersonal) र अन्तरवैयक्तिक (Interpersonal) दुवै क्षमताहरू पर्दछन् । आफ्ना भावना, संवेग, विचार, मनस्थिति र स्वभावप्रति सचेत रही केहि काम गर्न सक्ने क्षमतालाई वैयक्तिक क्षमता भनिन्छ । यस्तो क्षमता भएका व्यक्तिहरू आत्मसचेत रहने, आफ्ना सवल पक्ष र दुर्वल पक्ष आत्मसमिक्षा गर्न सक्ने, नयाँ नयाँ सिद्धान्त र विचारहरू विश्लेषण गर्न रमाउने खालका हुन्छन् । उदाहरणका लागि लेखक, दार्शनिक, वैज्ञानिक, सिद्धान्त प्रतिपादक, विश्लेषक आदि वैयक्तिक क्षमता प्रवल भएका व्यक्तिहरू हुन् । अरुका भावना, संवेग, विचार, मनस्थिति र स्वभावप्रति सचेत रही केहि काम गर्न सक्ने क्षमतालाई अन्तरवैयक्तिक क्षमता भनिन्छ । यस्तो क्षमता भएका व्यक्तिहरू अरुको समस्यालाई बुझ्न सक्ने, अरुको सम्मान र विश्वास जित्न सक्ने, आफ्नो बोलि व्यवहारबाट अरुलाई प्रभाव पार्न र परिवर्तन गर्न सक्ने, अरु व्यक्तिहरूलाई स्वभाविक ढंगले भेटघाट गर्न सक्ने र उनीहरूसँग घुलमिल हुन सक्ने खालका हुन्छन् । उदाहरणका लागि समाजसेवी, परामर्शकर्ता, नर्स, वेटर, हेरचाहकर्ता, बारटेन्डर, रिसेप्सनिष्ट, बजार व्यवस्थापक आदि अन्तरवैयक्तिक क्षमता प्रवल भएका व्यक्तिहरू हुन् ।

व्यक्तिगत क्षमता
(Personal Potential)

वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।